Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


आबद्ध संघहरू >> शहरी अनौपचारिक क्षेत्र यूनियन परिषद

शहरी अनौपचारिक क्षेत्र यूनियन परिषद

  • नेपाल स्वतन्त्र सफाई मजदुर यूनियन

    नेपाल स्वतन्त्र सफाई मजदुर यूनियनको स्थापना २०४७ असार १ गते भएको हो । २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर यूनियनमा सङ्गठित सफाइ मजदुरहरूको सफाइ मजदुर प्रारम्भिक कमिटीले काठमाडौं नगर पञ्चायतमा आफ्ना समस्यालाई लिएर १५ सूत्रीय माग पेश गरी हडताल गर्‍यो । यो आन्दोलन नै सफाइ मजदुरहरूको सबैभन्दा पहिलो सङ्गठित आन्दोलन थियो । प्रशासनको दमनको बाबजुद पनि त्यस आन्दोलनले धेरै मागहरू पूरा गराउन सफल भएको थियो ।

    यस आन्दोलनबाट काठमाडौं नगरपञ्चायतमा ज्यालादारी मात्र हुन सक्ने कुचीकारहरूले स्थायी नियुक्ति पाएका थिए । कुचीकारहरू आफैले व्यवस्था गर्दै आएको च्वाफि र खर्पन नगरपञ्चायतले व्यवस्था गर्ने तथा पोशाक र औषधिको व्यवस्थाका साथै नाइकेले थप भत्ता पाउने व्यवस्था भयो । यो सफाइ मजदुरहरूको ठूलो सफलता थियो । सङ्गठित हुन थालेको १० वर्षपछि २०४७ असार १ गते नेपाल स्वतन्त्र सफाइ मजदुर यूनियन ट्रेड यूनियन संघको रूपमा श्रम विभागमा दर्ता भएको छ ।

    काठमाडौं उपत्यकाबाट सुरु भएको नेस्वसमयू लामो समयसम्म उपत्यकामा नै सीमित रह्यो । २०४७ सालको जनआन्दोलन पछि देशका विभिन्न भागमा यसको कार्यक्षेत्र पनि विस्तार हुन थाल्यो । यो यूनियन हाल पूर्वको झापादेखि पश्चिमको बुटवलसम्म फैलिएको छ । अधिराज्यभर फैलिएका ५८ वटा नगरपालिका र अन्य बस्ती, कार्यालय, अस्पताल आदि ठाउँमा सफाइ काम गर्ने र फोहर सङ्कलन गर्ने श्रमिकहरू नै यस यूनियनको कार्य क्षेत्र भित्र पर्छन्  ।

    स्थापनाको समयदेखि नै राष्ट्रिय स्तरमा जिफन्टसँग आबद्ध रहँदै आएको यो यूनियन २०६० साल भदौबाट अन्तर्राष्ट्रिय ट्रेड यूनियन संघ आइसिइएममा आबद्ध भएको छ ।

    अध्यक्ष–मदन द्योला
    महासचिव–सारदा पोडे



    Tel:977-1-16 80 00 Ext: 109 E-mail: igcun@gefont.org
  • नेपाल सुनचाँदी कारिगढ ट्रेड यूनियन

    सुनचाँदीका गरगहना बनाउने मजदुरहरूको पेशागत हक हितको रक्षा तथा मजदुरहरूको सामाजिक अवस्थामा सुधार गरी मजदुरहरूले भोग्नु परिरहेको सामाजिक अपमान र उत्पीडनको अन्त्य गर्ने उद्देश्यले यो यूनियनको स्थापना भएको छ । यसको पहिलो राष्ट्रिय भेला २०६३ कात्तिक १३ गते पोखरामा सम्पन्न भई केन्द्रीय कमिटीको गठन भयो ।

    यो यूनियन २०६४ सालमा ५०० जनाको हस्ताक्षर सहित श्रम विभागमा राष्ट्रिय संघको रूपमा दर्ता भएको छ ।

    अध्यक्ष– टेक बहादुर घतानी
    महासचिव– रेवन्त विश्वकर्मा



    Tel:977-1-4 16 80 00 Ext: 109 E-mail: gositun@gefont.org
  • नेपाल स्वतन्त्र घरेलु श्रमिक यूनियन

    नेपालका विभिन्न जिल्लामा कार्यरत घरेलु श्रमिकको रूपमा काम गर्ने मजदुरहरू सङ्गठित गरी नेपाल स्वतन्त्र घरेलु श्रमिक यूनियन गठन गरिएको छ । यो यूनियन श्रम विभागमा १६१ नं. मा दर्ता भएको छ ।

    देशभरमा झण्डै डेढ लाख श्रमिक रहेको, काठमाडौंमा मात्र हरेक १०० घरमध्ये २० घरमा घरेलु बालश्रमिक र ५ घरमा पार्ट टाइम काम गर्ने वयस्क श्रमिक रहेको कुरा एउटा सर्वेक्षेणले देखाएको छ । यस क्षेत्रका श्रमिकहरू श्रमशोषणको चरम रूप बाँधा श्रमिकको अवस्थामा काम गरिरहेकोले श्रमिकको अधिकार रक्षा र श्रमको सम्मानका लागि पनि यस क्षेत्रमा यूनियन आवश्यक थियो ।

    सानो यूनियनको रूपमा प्रारम्भिक अवस्थामा भए पनि यो यूनियनलाई महासंघले प्राथमिकताका साथ अघि बढाएको छ ।

    अध्यक्ष– सोनु दनुवार
    महासचिव– रोहिणी प्रसाद दाहाल



    Tel:977-1-4 16 80 00 Ext: 109 E-mail: nidwu @gefont.org
  • नेपाल घर आधारित श्रमिक यूनियन

    खास गरी काठमाडौं र विभिन्न शहरी क्षेत्रमा पिसरेटमा काम गर्ने श्रमिकहरू यस यूनियनमा सङ्गठित गरिएका छन् । यस्तो काममा अधिकांश महिलाको सङ्लग्नता रहेको र श्रमशोषण अत्यधिक रहेकोले पनि महिला अभियानको एउटा पाटोका रूपमा पनि यस क्षेत्रमा यूनियन दर्ता गरिएको हो । स्वेटर-मोजा बुन्ने, ऊन/बत्ती कात्ने, पोते उन्ने-भर्ने, धुप बाट्ने, मैनबत्ती बनाउने, अचार बनाउने, टपरी गाँस्ने लगायतका काम गर्ने श्रमिकहरू बीचमा १०३० सदस्य भएको यो यूनियन श्रम विभागमा १६५ नं. मा दर्ता भएको छ ।

    अध्यक्ष– विन्दु श्रेष्ठ
    महासचिव– राज्यलक्ष्मी श्रेष्ठ



    Tel:977-1-4 16 80 00 Ext: 108 E-mail: nehwu@gefont.org
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ