नेपाली श्रमिकहरुको आवाज
खोज
यसभित्र
संक्षेपमा जिफन्ट
इतिहास
नेतृत्व
सदस्य संघहरु
प्रकाशनहरु
जिफन्टका धारणा
प्रेस विज्ञप्ति
समाचार घटना
अनलाईन स्रोत
जिफन्ट मिडिया
जिफन्ट ग्यालरी
ठेगाना
ग्राहक बन्नुहोस

लेबोर नेपाल
श्रमसम्बन्धी नेपाल को पहिलो वेब साईट
www.labornepal.org
 
Listen And Download Labour Songs
 
Watch And Download Videos
 
Download Wallpaper From GEFONT
 
Download Campaign Posters Published By GEFONT
 
 
 
Number of online users in last 3 minutes
 
 
मुख्य पृष्ठ > सदस्य संघहरु

सदस्य संघहरु

आबद्ध राष्ट्रिय संघहरू


:: नेपाल स्वतन्त्र मजदुर यूनियन, (नेस्वमयू) <माथि>
२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन सँगसँगै काठमाडौं, हेटौडा, विराटनगर लगायत देशभरि नै साना ठूला मजदुर आन्दोलनहरू उठेको थियो । तिनै आन्दोलनकारी मजदुरहरूद्वारा २०३६ साल माघ १५ गते बालाजु औद्योगिक क्षेत्रमा प्रथम राष्ट्रिय कार्यकर्ता भेला गरी २००३ सालमा स्थापित अखिल नेपाल ट्रेड यूनियन काँग्रेसको असल उत्तराधिकारीको रूपमा नेपाल स्वतन्त्र मजदुर यूनियनको स्थापना भएको हो । स्वर्गिय कमलबहादुर लामा संस्थापक अध्यक्ष रहनु भएको यस यूनियन जिफण्ट परिवारकै सबैभन्दा जेठो यूनियन हो ।
जिफण्टको चार संस्थापक यूनियनहरू मध्येको एउटा प्रमुख घटकको रूपमा रहेको यस यूनियन २०५१ मंसीर ८ मा पहिलो ट्रेड यूनियन फेडेरेसनको रूपमा श्रम विभागमा दर्ता भएको छ ।

कार्यक्षेत्र र फैलावट

शुरूका दिनमा सम्पूर्ण औद्योगिक क्षेत्रका श्रमिकहरूलाई संगठित गर्दै आएको यस यूनियनको कार्यक्षेत्र जिफण्टको लाइन इण्डस्ट्री अभियान पछि केही साँघुरो भएको छ । २०५५ सालदेखि यस यूनियनको काम छाला तथा कपडाका जुत्ता, चप्पल, सूर्ती, बिडी तथा चुरोट कारखानाहरू, इटाभट्टा र टायल कारखाना, हयूम पाइप, रोडा-ढुङ्गा उद्योगहरू, काष्ठकला, हस्तकला उद्योग, फर्निचर तथा प्लाइउड उद्योग, टेण्ट तथा तारपोलिन उद्योग, ड्राइल्किनीङ, कलर ल्याब, चलचित्र उद्योग, सलाई, एयरपोर्ट तथा सुख्खा बन्दरगाह, मेडिकल कलेज क्षेत्रमा केन्द्रित रहेको छ । यस बाहेक जिफण्टका अन्य विभिन्न सदस्य यूनियनहरूको परिभाषित क्षेत्रमा नपर्ने सम्पूर्ण प्रतिष्ठानहरू यस यूनियनमा संगठित हुँदै आएका छन् ।
हाल मेचीदेखि भेरीसम्मका झण्डै १३,००० श्रमिकहरू बीच गतिविधि संचालन गरिरहेको यस यूनियनमा शुल्क तिर्ने सदस्य संख्या १६६ महिलासहित १८७८ जना रहेका छन् ।
देशभरिका १७ वटा जिल्लामा क्रियाशील यस यूनियनको केन्द्रीय कमिटीको मातहतमा ६ वटा जिल्ला कमिटी, १ वटा जिल्लास्तरीय उपत्यका महिला मजदुर विभाग, ८ वटा प्रतिष्ठानस्तरीय महिला मजदुर विभाग र ५९ वटा प्रतिष्ठानस्तरका यूनियनसहित गरी ६२ वटा कमिटीमा ८६ जना महिलासहित ६३० जना द्वारा नेतृत्व दिइरहेका छन्।

राष्ट्रिय भेला तथा अधिवेशनहरू

प्रथम राष्ट्रिय सम्मेलन ०४५ माघ १३-१५ किर्तिपुर, काठमाडौं
दोस्रो राष्ट्रिय सम्मेलन ०४७ पौष ५-७, हेटौडा
तेस्रो राष्ट्रिय सम्मेलन ०५२ बैशाख १-३, पोखरा
चौथो राष्ट्रिय सम्मेलन ०५७ भाद्र २४, सिमरा, बारा
पाँचौ राष्ट्रिय सम्मेलन २०६१ माघ १६, काठमाडौं

आबद्धता

राष्ट्रिय स्तरमा जिफण्टसँग आबद्ध रहेको यस यूनियन २०६० साल कार्तिकबाट अन्तरराष्ट्रिय स्तरमा ग्लोवल यूनियन फेडेरेसन - इन्टरनेसनल टेक्सटाइल, गार्मेण्ट, लेदर वर्कर्स फेडेरेसन (आइटिजिएलडव्लुएफ) सँग आबद्ध रहेको छ । यसको मुख्य कार्यालय बेल्जीयमको ब्रसेल्समा रहेको छ ।

प्रमुख आन्दोलनहरू

नेस्वमयूको स्थापनापछि २०३६ देखि २०४६ सम्म विभिन्न प्रतिष्ठान र औद्योगिक क्षेत्रमा अधिकांश आन्दोलनहरू नेस्वमयूको नामबाट नै भएका थिए । त्यसमध्येमा २०३७ र २०३९ मा राष्ट्रव्यापी हड्ताल भएको कुरा नेपालको ट्रेड यूनियन आन्दोलनमा सधैं उल्लेखनीय रूपमा रहेको छ ।

:: नेपाल स्वतन्त्र टेक्सटायल-गार्मेण्ट मजदुर यूनियन, (नेस्वटेगामयू) <माथि>
नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर यूनियन देशभरिका टेक्सटायल, गार्मेन्ट, जुट, पश्मिना, होजियारी स्पिनिङ र सिलाई क्षेत्रमा कार्यरत श्रमिकहरूको साझा र स्वतन्त्र ट्रेड यूनियन संघ हो ।
२०४३ साल पौष ८ गतेबाट नेपाल स्वतन्त्र मजदुर यूनियनभित्र तयारी पोशाक उद्योग इकाइ समितिको नामबाट यस यूनियनको शुरू भएको थियो । गार्मेण्ट क्षेत्रका श्रमिकहरूको छुट्टै यूनियन नेपाल स्वतन्त्र गार्मेन्ट मजदुर यूनियन (नेस्वगामयू) को रूपमा २०४८ साल पौषमा प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न गरियो । २०५१ पौष २८ गते श्रम विभागमा यस यूनियनको दर्ता भएको छ ।

कार्यक्षेत्र र फैलावट

नेपाल ट्रेड यूनियन महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको विषयगत उद्योग अभियान अन्तर्गत यस यूनियनको पनि पुनर्संरचना गरियो । यसै अनुरूप २०५४ कार्तिक ६ गते टेक्सटायल, गार्मेन्ट, जुट, धागो र कपास उद्योग अन्तर्गत रहेका यूनियनहरूको एकीकरण भेला काठमाडौंमा सम्पन्न भयो । उक्त भेलाले नेस्वगामयूको सट्टा यूनियनको नाम नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर यूनियन राख्ने निर्णय गर्यो ।
नेपाल अधिराज्यभर छरिएर रहेका नेस्वटेगामयू अन्तर्गतका श्रमिकमध्ये २७ हजार ७ सय ८१ जना श्रमिकहरू यस यूनियनको सदस्य रहेका छन् । जसमा महिलाको संख्या २० प्रतिशत जति रहेको छ । देशभरिबाट ६० वटा प्रतिष्ठानस्तरका दर्ता यूनियनहरू यससँग आबद्ध रहेका छन् । काठमाडौं, भक्तपुर, मोरङ, सुनसरी, बारा, पर्सा, कास्की र कञ्चनपुरमा गरी जम्मा सातवटा जिल्ला समन्वय कमिटीहरू छन् । यस यूनियनको १५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । यस अन्तर्गत कार्यालय तथा प्रकाशन, आर्थिक, श्रम सम्बन्ध, महिला, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा र अतिरिक्त क्रियाकलापसहित छ वटा केन्द्रीय विभागहरू रहेका छन् ।
यस बाहेक झापा, रुपन्देही, चितवन र नवलपरासीमा समेत यूनियनको काम विस्तार भएको छ । जिल्ला तहको कमिटी निर्माणको काम प्रक्रियामा रहेको छ ।

राष्ट्रिय अधिवेशनहरू

प्रथम राष्ट्रिय सम्मेलन २०४८ साल पौष काठमाडौं
दोस्रो राष्ट्रिय सम्मेलन २०५२ साल पौष ८-९ गते काठमाडौं
तेस्रो राष्ट्रिय सम्मेलन २०५५ फागुन २२ र २३ काठमाडौं
चौथो राष्ट्रिय सम्मेलन २०५८ चैत्र ३ गते, काठमाडौं
चौथो राष्ट्रिय सम्मेलन २०६२ फागुन ७ गते, काठमाडौं

आबद्धता

राष्ट्रियस्तरमा स्थापनाकालदेखि नै जिफण्टसँग आबद्ध रहँदै आएको यस यूनियन २०६० साल कार्तिकबाट अन्तरराष्ट्रिय तहमा इन्टरनेसनल टेक्सटाइल, गार्मेण्ट, लेदर तथा जनरल वर्कर्स फेडेरेसन (आईटिजिएलडव्लुएफ) सँग आबद्ध रहेको छ ।

प्रमुख आन्दोलनहरू

 २०४५ सालमा पहिलो पटक १०५७ जनाको हस्ताक्षर गरी श्रम कार्यालयमा स्मरणपत्र पेश गरी आन्दोलनको तयारी गरिएको थियो। त्यसपछि यसलाईं २०४६ सालको जनआन्दोलनसँग गाँसेर अगाडि बढाइयो र त्यसमा उल्लेखनीय सहभागिता रहन गयो ।
 २०४७ सालमा नेपाल तयारी पोशाक उद्योगमा न्यूनतम वेतन र सुविधामा वृद्धिसहितको ८ सूत्रीय माग राखी यूनियन र व्यवसायी संघ बीच पहिलो पटक सम्झौता भएको थियो ।

:: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, (नेयास्वमसं) <माथि>
नेपालमा व्यवसायक रूपमा सवारी संचालनको थालनीसँगै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन संचालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउँमा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट "नेपाल यातायात स्वतन्त्र मजदुर संगठन" को स्थापना गरियो ।
समयक्रममा नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली संगठनको रूपमा स्थापित हुन पुग्यो । यो यूनियन श्री ५ को सरकारको श्रम विभागमा नं ३ मा राष्ट्रिय ट्रेड यूनियन संघको रूपमा दर्ता भएको छ । यो नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) को संस्थापक सदस्यको रूपमा आबद्ध रहँदै आएको छ ।

कार्यक्षेत्र र फैलावट

नेपाली मजदुर पक्षीय ट्रेड यूनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो संगठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र यूनियनको रूपमा संचालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो संख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् । यस संगठनको प्रत्यक्ष नेतृत्वमा क्रियाशील सदस्य संख्या ५२,६५५ रहेका छन् ।
अधिराज्यको कर्णाली बाहेक १३ वटा अंचलमा यो संगठन विस्तार भएको छ । देशभरिमा यस यूनियनको १३ वटा अंचल, १४ वटा जिल्ला र १२३ वटा इकाइ कमिटीहरू क्रियाशील रहेका छन् ।

राष्टिय अधिवेशनहरू

पहिलो अधिवेशन २०३६ साल श्रावन २६ गते हेटौडा
दोस्रो अधिवेशन २०३७ साल भाद्र २० र २१ गते राजविराज
तेस्रो अधिवेशन २०४७ मंसीर २२ देखि २४ पोखरा
चौथो अधिवेशन २०५१ पाल्गुण १८ देखि २० वुटवल
पाँचौं अधिवेशन २०५५ फाल्गुण ७ देखि ९ हेटौडा
छैटौं अधिवेशन २०५९ चैत्र ८ देखि १० काठमाडौं
सातौं अधिवेशन २०६३ चैत्र १५ देखि १७ काठमाडौं

आबद्धता

राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यस संगठनको अन्तरराष्ट्रिय स्तरमा इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनसँग सर्म्पर्क स्थापित भएको छ ।

प्रमुख आन्दोलनहरू<

प्रमुख आन्दोलन तथा गतिविधिहरू

१. नीति र कानुनको क्षेत्रमा सवारी तथा यातायात व्यवस्था ऐन २०२० को खारेजी र नयाँ सवारी ऐनको व्यवस्थाका लागि भएको अनवरत संर्घषपछि सवारी ऐन २०४९ र २०५३ साल फल्गुण १५ गतेको ऐतिहासिक चक्का जामसम्म पुगेपछि प्राप्त सवारी नियमावली २०५३ आन्दोलनको मूल उपलब्धि हुन् ।
२. पेशागत समस्या समाधानमा पहल ः यातायात मजदुरहरूले दैनिक रूपमा भोग्दै आएका सामाजिक सुरक्षा, प्रशासनिक झमेला, यातायात दुर्घटना सम्बन्धी समस्या सामाधानको विषय यूनियनको दैनिक कामका रूपमा गर्दै आएको छ ।
३. कल्याणकारी कार्य ः संगठनको पहलमा सबै तहका कमिटीहरूले सदस्यहरूलाई आवश्यक दुर्घटना सहायता शुल्क, हिरासतमा रहेको अवस्थामा परिवारलाई घर खर्च, कानुनी सल्लाह र बीमाको भुक्तानको लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।

:: नेपाल स्वतन्त्र कार्पेट मजदुर यूनियन, (नेस्वकामयू)<माथि>
कार्पेट क्षेत्रमा काम गर्ने श्रमिकहरको साझा यूनियन नेपाल स्वतन्त्र कार्पेट मजदुर यूनियन स्थापना २०४७ जेष्ठ १० गते हो । यस यूनियनमा कार्पेट क्षेत्रको डाईङ, कटिङ, वासिङ, स्टिचिङ, डिजाइनिङ्ग, वोईभिङ, स्पिनिङ, फिनिसिङ लगायतका काम गर्ने श्रमिकहरू संगठित हुँदै आएका छन् ।

कामको क्षेत्र र फैलावट

६५ वटा प्रतिष्ठानस्तरका यूनियनहरूको साझा छाताको रूपमा रहेको यस यूनियनको शुल्क तिर्ने सदस्य संख्या १०६८ रहेको छ, जसमा महिला सदस्य ५८७ र पुरुष ४८१ जना छन् । कामको फैलावटको आधारमा यो उपत्यकामा केन्द्रित रहेको छ । उपत्यका बाहिर पोखरा र हेटौडाका केही कारखाना भए पनि न त कारखानामा स्थिरता छ न यूनियन फैलन नै सकेको छ । हालसम्म यस यूनियनको निम्न अनुसार तीनवटा राष्ट्रिय अधिवेशनहरू सम्पन्न भएका छन् ।

राष्ट्रिय अधिवेशनहरू

पहिलो राष्ट्रिय अधिवेसन - २०५२ फाल्गुण ५-६, काठमाडौं
दोस्रो राष्ट्रिय अधिवेसन - २०५५ फाल्गुण २२-२४, काठमाडौं
तेस्रो राष्ट्रिय अधिवेसन - २०६० जेठ १०, काठमाडौं
चौथो राष्ट्रिय अधिवेसन - २०६४ जेठ १०, काठमाडौं

आबद्धता

राष्ट्रियस्तरमा जिफण्टसँग आबद्ध रहँदै आएको यस यूनियन २०६० साल कार्तिकबाट अन्तरराष्ट्रिय तहमा इन्टरनेसनल टेक्सटाइल, गार्मेण्ट, लेदर तथा जनरल वर्कर्स फेडेरेसन (आईटिजिएलडब्लुएफ) सँग आबद्ध रहेको छ ।

प्रमुख आन्दोलन र गतिविधि

जिफण्ट परिवारभित्र कार्पेट यूनियन छुट्टै खालको विशेषता भएको यूनियनको रूपमा स्थापित भएको छ । संगठन विस्तारको लागि यसले लोकगीत, कविता र हाजिरी जवाफ प्रतियोगिताका साथमा सांस्कृतिक कार्यक्रमको माध्यम पनि प्रयोग गर्दै आएको छ । यस यूनियनले निम्न अनुसारका नियमित गतिविधिहरू संचालन गर्दै आएको छ ।
 अन्तरराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम "श्रमिक साँझ", तिजको उपलक्ष्यमा "महिला लोकगीत प्रतियोगिता", तिहारमा द्यौसी भैलो, अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस) को उपलक्ष्यमा अन्तर यूनियन हाजिर जवाफ प्रतियोगिता र यूनियन स्थापना दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, बाल नृत्य प्रतियोगिता, उत्कृष्ट विद्यार्थी पुरस्कृत कार्यक्रम यसका नियमित गतिविधिहरू हुन् ।
 सिंगो कार्पेट क्षेत्रका यूनियनहरूको तर्फबाट २६ सूत्रीय माग राखी गरिएको आन्दोलनमा २०५४ बैसाख ३० गते र २०५५ भाद्रमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
 विषयगत आधारमा गलैंचा मजदुर प्रकाशन गर्दै आएको छ । २०५८ आषाढदेखि यसले आफ्ना सदस्य बीच बचत कोष अभियान संचालन गर्दै आएको छ ।

:: नेपाल स्वतन्त्र होटल मजदुर यूनियन, (नेस्वहोमयू) <माथि>
नेपाल स्वतन्त्र होटल मजदुर यूनियनको गठन २०३७ सालमा भएको हो । होटल सोल्टी व्यवस्थापनले मजदुरहरूलाई चरम दमन र शोषण गरेपछि त्यसको विरोधमा श्रमिकहरू आन्दोलनमा उत्रिए । उक्त आन्दोलनलाई दबाउने उद्देश्यले झण्डै सात सय मजदुरहरूलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लव लगायत विभिन्न प्रहरी थानाहरूमा ४८ घण्टासम्म थुनियो । त्यही घटनाले होटल मजदुरहरूलाई संगठित हुन प्रेरित गर्यो । परिणाम स्वरूप होटल सोल्टी, एभरेष्ट, याक एण्ड यति र कृष्टलका मजदुरहरू भेला भई २०३७ मंसिर १३ गते नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजदुर यूनियनको गठन गरियो ।

कार्यक्षेत्र र फैलावट

नेस्वहोमयू होटल, लज, गेष्ट हाउस, रेष्टुराँ, जंगल लज, क्यासिनो, क्लब तथा क्याटरीङ्ग क्षेत्रमा कार्यरत मजदुरहरूको साझा संगठन हो । जिफण्टको संस्थापक यूनियनमध्ये एक रहेको यस यूनियन श्रम विभागमा पाँचौ नम्वरमा दर्ता भएको छ । यस यूनियनले संस्थागत र व्यक्तिगत दुवै किसिमको सदस्यताको व्यवस्था गरेको छ । हालसम्म यस यूनियनको काम काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रूपन्देही, चितवन, सुनसरी, मोरङ र सोलुखुम्बुमा फैलिएको छ ।
देशका यी विभिन्न क्षेत्रमा क्रियाशील होटल क्षेत्रका श्रमिकहरू मध्ये हालसम्म १६०२४ जना यस यूनियनको सदस्य रहनु भएको छ, जसमध्ये झण्डै १५ प्रतिशत संख्या महिलाको रहेको छ । देशभरिमा जम्मा ७७ वटा स्थानीय कमिटीहरू रहेका छन् । त्यसमध्ये ६७ वटा प्रतिष्ठानस्तरको र ११ वटा समन्वय कमिटीहरू छन् । कमिटीमा संगठित श्रमिकको संख्या ७०२ छ, यसमध्ये ४७ जना महिला छन् । ६७ वटा प्रतिष्ठान मध्ये ६० वटामा नेस्वहोमयू आबद्ध यूनियनले आधिकारिक यूनियनका रूपमा काम गरिरहेको छ । यस यूनियनले हालसम्म आफ्ना ६ वटा राष्ट्रिय अधिवेशनहरू सम्पन्न गरि सकेको छ ।

राष्ट्रिय अधिवेशनहरू

पहिलो राष्ट्रिय सम्मेलन २०३८ मंसीर १३ गते, काठमाडौं
दोस्रो राष्ट्रिय सम्मेलन २०४१ असार, ललितपुर
तेस्रो राष्ट्रिय सम्मेलन २०४७ भाद्र २३-२५ गते, काठमाडौं
चौथो राष्ट्रिय सम्मेलन २०५२ श्रावण ५-७ गते, पोखरा
पाँचौ राष्ट्रिय सम्मेलन २०५५ फागुन १-३ गते, काठमाडौं
छैटौं राष्ट्रिय सम्मेलन २०५९ चैत्र २२-२३ गते, भक्तपुर
सातौं राष्ट्रिय सम्मेलन २०६३ चैत्र १७-१९ गते, पोखरा

प्रमुख आन्दोलन र गतिविधि

यूनियनको स्थापनादेखि अन्य नियमित गतिविधि र आकष्मिक आन्दोलनका साथमा १० प्रतिशत सेवा शुल्कको आन्दोलन प्रमुख रहदै आएको छ। यसको सन्दर्भमा
 यस यूनियनको गठन संगै २०३६ सालमा होटल सोल्टी व्यवस्थापन समक्ष १० प्रतिशत सेवा शुल्कको माग प्रस्तुत गर्दै आन्दोलनको प्रारम्भ गरियो । जुन आन्दोलनको क्रममा त्यहाँको सयौं श्रमिक र यूनियन नेता/कार्यकर्ताहरूको रोजगारी समेत गयो । उक्त आन्दोलनको व्यापक दवावका कारण सोल्टी व्यवस्थापनले २०३७ सालदेखि १० प्रतिशत सेवा शुल्क लागू गर्ने सम्झौता मजदुरहरूसँग गर्यो । तर, हालसम्म पनि कार्यान्वयन भएको छैन ।
 २०४७ सालमा नेस्वहोमयू केन्द्रीय कमिटीले सरकार तथा विभिन्न होटलहरूमा सेवा शुल्क क्याटरीङ्ग कलेज लगायतका थुप्रै विषयहरू समावेश गरी मागपत्र प्रस्तुत गर्यो । सोही क्रममा होटल सोल्टी व्यवस्थापनले १९९१ अक्टुवर १ तारिखदेखि १० प्रतिशत सेवा शुल्क लागू गर्ने सम्झौता भयो । सोल्टीले यो सम्झौता कार्यान्वयन गरेमा अन्य होटलहरूले पनि सेवा शुल्क लागू गर्ने सम्झौता आ-आफ्ना प्रतिष्ठिानमा गरे । दोस्र्रो पटक पनि सोल्टीको कारण देखाउदै अन्य होटलहरूले पनि सम्झौता कार्यान्वयन गरेनन् । सरकारसँग यस मागका सम्बन्धमा पटक-पटक छलफल भए पनि अहिलेसम्म माग पूरा हुन सकेन ।
 २०५७ सालमा फेरि पनि देशभरीका तारे होटलहरूमा एकै पटक यही मागपत्र राखेर गरिएको आन्दोलन नेपालको मजदुर आन्दोलनको इतिहासमा ज्यादै सशक्त र चर्चित आन्दोलनको रूपमा परिचित छ । उक्त आन्दोलन अहिले कानुनी प्रक्रियाबाट अघि बढिरहेको छ ।

:: नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ मजदुर यूनियन, (यूनिट्राभ) <माथि>
निरंकुश पञ्चायती व्यवस्थाको चरम दमनको अवस्थामा २०४० साल बैशाख १ गते ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरूले आफ्नो हक हित र अधिकार प्राप्तिको लागि ट्रेकिङ मजदुर संघ, नेपालको स्थापना गरेको थियो ।
नेपाल ट्रेड यूनियन महासंघको चार वटा संस्थापक सदस्य यूनियनहरूमध्ये ट्रेकिङ मजदुर संघ, नेपाल पनि एक हो । त्यसबेला यस यूनियनको अध्यक्ष स्वर्गिय नुरु वाङछु सेर्पा हुनुहुन्थ्यो । स्वर्गिय नुरु वाङ्छु सेर्पा ट्रेकिङ मजदुर संघको पनि संस्थापक सदस्य हुनुहुन्थ्यो ।
यस यूनियनले २०४६ सालको जनआन्दोलनपछि थुप्रै किसिमका मजदुर गतिविधिहरू संचालन गर्दै अगाडि बढिरहेको छ । २०४७ सालमा ८३ सूत्रीय माग राखी ५ दिनसम्म सम्पूर्ण ट्रेकिङ एजेन्सीहरूमा हड्ताल गरी थुप्रै माग पूरा गराउन यस यूनियन सफल भएको थियो । त्यसबेला माग पूरा गराउन यस यूनियनले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा ठूला ठूला जुलुसहरू निकाल्नुका साथै हङकङमा समेत पत्रकार सम्मेलन गरी सरकारलाई दवाव दिने काम गरेको थियो ।
नेपाल ट्रेकिङ मजदुर संघको पहिलो राष्ट्रिय सम्मेलन २०४० साल बैशाख १ गते भएको थियो । २०५५ साल पौष २५ गते सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले यसको कार्यक्षेत्रलाई फैलाएर लानुपर्ने महसुस गरी ट्राभल्स र र्याफ्टीङ क्षेत्रलाई पनि समेट्ने निर्णय गर्यो । त्यही वेला यस यूनियनको नाम परिवर्तन गरी नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टीङ मजदुर यूनियन, छोटकरीमा यूनिट्राभ भनी नामांकन गरियो ।

कार्यक्षेत्र र फैलावट

यो यूनियनमा हाल ५२ वटा प्रतिष्ठानस्तरीय ट्रेड यूनियन छन् । जसमा १७६० शुल्क तिर्ने सदस्य सहित ४२६० हस्ताक्षर सदस्य रहेका छन्। खास गरी मध्यमाञ्चल क्षेत्रको काठमाडौं र पश्चिमाञ्चल क्षेत्रको पोखरामा फैलिएको यस यूनियनको उपत्यका कमिटी, पोखरा क्षेत्रीय समन्वय कमिटी लगायत लुक्ला र धुन्चे कमिटी क्रियाशील छ । हाल यो यूनियन ट्रेकिङ लगायत ट्राभल, र्याफ्टिङ तथा एयर लाइन्सहरूमा क्रियाशील छ।

राष्ट्रिय अधिवेशनहरू

पहिलो राष्ट्रिय अधिवेशन २०४० बैशाख १ गते
दोस्रो राष्ट्रिय अधिवेशन २०४२ बैशाख १६ गते
तेस्रो राष्ट्रिय अधिवेशन २०४४ जेठ ३१ गते
चौथो राष्ट्रिय अधिवेशन २०४६ भदौ १७ गते
पाँचौं राष्ट्रिय अधिवेशन २०४८ श्रावण २५ गते
छैटौं राष्ट्रिय अधिवेशन २०५२ भदौ ३१ गते
सातौं राष्ट्रिय अधिवेशन २०५५ पौष २५ गते
आठौं राष्ट्रिय अधिवेशन २०५९ जेठ ३ गते
नवौं राष्ट्रिय अधिवेशन २०६२ मंसिर २५ गते

प्रमुख आन्दोलन र गतिविधिहरू

यूनिट्राभले ट्रेकिङमा दुर्घटना परी मरेका कैयौं मजदुरहरूको परिवारलाई जीवन बीमा दिलाउन सफल भएको छ । यही कारण यो यूनियन ट्रेकिङ मजदुरहरूको परिवारको बीच समेत स्थापित भएको छ । विगत ६ वर्षदेखि नियमित रूपमा हिमाल क्षेत्र सफाइ गर्ने काममा यो क्रियाशील छ । हालसम्म यसले मेरापिक हिमाल, गोसाइकुण्ड क्षेत्र र लाङटाङ क्षेत्रमा सफाइ अभियान सञ्चालन गरिसकेको छ ।
पश्चिमाञ्चल क्षेत्रमा यस यूनियनले "आफ्नो लागि आफै सोचौं" भन्ने नयाँ कल्याणकारी कार्यक्रम सञ्चालन गरी ट्रेकिङ मजदुरहरूलाई अप्ठ्यारो परेको बेला सहयोग पुर्याउँदै आइरहेको छ ।
२०५७ सालमा यसले राष्ट्रिय स्तरको "ए" डिभिजनको टिमहरूलाई समावेश गरी "पासाङ ल्हामु स्मृति फुटबल प्रतियोगिता" संचालन गरेको थियो । ट्रेड यूनियनहरूले संचलान गरेको खेलकूद कार्यक्रमहरूमा यो उल्लेखनीय रहेको छ ।

:: नेपाल स्वतन्त्र चिया मजदुर यूनियन, (नेस्वचिमयू) <माथि>
नेपालमा चिया बगानको स्थापना जहानिया राणा शासनकालमै भएको भए पनि मूल रूपमा २०१६ साल देखि मात्र झापा जिल्लामा चिया बगानहरू विस्तार भएको पाइन्छ । तर चिया बगानमा कार्यरत श्रमिकहरू भने तत्कालीन पञ्चायती व्यवस्थाको निरङ्कुशताका कारण संगठित हुन सकेका थिएनन् । पञ्चायती व्यवस्थाले हुर्काएको सामन्तवादी शोषण र दमन सहनु चिया मजदुरहरूको नियती नै भएको थियो। रोजगारीको कुनै ग्यारेन्टी थिएन।
२०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि झापा जिल्लामा रहेका चिया श्रमिकहरूको २०४७ जेठ १६ गते न्यूगिरी एण्ड सन्स टि स्टेटमा भएको भेलाले हिमालय चिया वगानमा कार्यरत श्रमिक रनजित बोहोराको अध्यक्षतामा ११ सदस्यीय नेपाल चिया मजदुर यूनियन झापा जिल्ला तदर्थ समितिको गठन गर्यो।
जिल्ला कमिटीको गठन पछि झापा तथा इलामका चिया बगानहरूमा यूनियन विस्तारको क्रममा इलाममा पनि जिल्ला कमिटी गठन भयो । २०४७ असार ७ गते बर्ने चिया कमानमा भएको झापा र इलाम दुवै जिल्लाको संयुक्त भेला भयो । त्यसपछि टोकला चिया कमानमा भएको केन्द्रीय भेलाले रूपचन उरावको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय तदर्थ समितिको गठन गर्यो।

कार्यक्षेत्र र फैलावट

नेपालको पूर्वी पहाडी क्षेत्रमा चिया बगान दिनदिनै फैलँदो आवस्थामा छ । झण्डै १२ हजारभन्दा बढी श्रमिकहरू कार्यरत रहेको यस क्षेत्रमा स्वरोजगारको पनि संख्या बढ्दो छ । झापा र इलाम जिल्लामा केन्द्रित रहेको चिया वगान अहिले क्रमशः पाँचथर, धनकुटा र संखुवासभामा पनि फैलदै छ ।
सिंगो श्रमिक चिया बगानको क्षेत्र क्रमशः फैलदै गए पनि यूनियन भने हालसम्म झापा र इलाममा मात्र सिमित रहेको छ । झण्डै ७० प्रतिशत महिला श्रमिक रहेको यस क्षेत्रमा कार्यरत नेस्वचिमयूमा हाल २,४१४ शुल्क तिर्ने सदस्य रहेका छन्, जसमध्ये १३२९ जना महिला छन् । यस यूनियन अन्तर्गत २२ वटा दर्ता भएका र ८ वटा अन्य कमिटी गरी जम्मा ३० वटा प्रतिष्ठानस्तरका यूनियनहरू क्रियाशील रहेका छन् । अहिलेसम्म नेस्वचिमयूले आफ्ना तीन वटा राष्ट्रिय अधिवेशनहरू सम्पन्न गरिसकेका छन् ।

राष्ट्रिय अधिवेशनहरू

पहिलो राष्ट्रिय सम्मेलन २०५२ साल पौष २७-२८ गते
दोस्रो राष्ट्रिय सम्मेलन २०५६ कार्तिक ९-१० गते
तेस्रो राष्ट्रिय सम्मेलन २०५९ फागुन १७-१८ गते
चौथो राष्ट्रिय सम्मेलन २०६४ बैशाख २२-२३ गते

आवद्धता

राष्ट्रिय रूपमा जिफण्टसँग आवद्ध रहेको यस यूनियन श्रम विभागमा ७ नंबरमा दर्ता भएको छ।

प्रमुख आन्दोलन र गतिविधिहरू

 श्रम ऐन २०४८ कार्यान्वयन र चिया बगान सम्बन्धी श्रम नियमावली संशोधनको लागि पहल र कार्यघन्टामा सुधार, ठेक्कामा एक रूपता र दैनिक ज्याला तथा भत्तामा वृद्धिका लागि भएको आन्दोलन उल्लेखनिय छ।
 चिया मजदुरहरूको रोजगारीको सुरक्षाको माग गर्दै नेपाल चिया विकास निगम निजीकरण विरुद्ध आन्दोलन प्रमुख आन्दोलन हो ।
 श्रमिकको चेतना वृद्धिको लागि शैक्षिक कार्यक्रम संचालन, शुल्क संकलनमा चेकअफ प्रणालीको शुरूवात, चिया बगानहरूमा सामूहिक सौदावाजी गर्दा नेतृत्व प्रदानका साथै यूनियनका अन्य नियमित गतिविधि संचालन यस यूनियनका प्रमुख रहेका छन् ।

:: नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियन, (नेस्वप्रेमयू) <माथि>
२०३६ माघ २५ गते उपत्यकाका प्रेस मजदुरहरूको एक भेलाले नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियन (नेस्वप्रेमयू) को उपत्यका समिति गठन भएपछि २०३७ बैशाख १३-१४ गते प्रथम उपत्यका सम्मेलन खुला रूपमा इटुंबहालमा सम्पन्न भयो । त्यसपछि यो यूनियन क्रमशः नेपालभर छरिएर रहेका प्रिन्टिङ प्रेससँग सम्बन्धित रहेर काम गर्ने श्रमिकहरूको साझा यूनियन बन्दै गयो । २०४७ माघ १९ गते देशभरिका प्रेस मजदुरहरूको भेलाले नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियनको केन्द्रीय तयारी समिति गठन भयो ।
यो यूनियन मुद्रण क्षेत्रमा काम गर्ने श्रमिकहरूको एक मात्र आधिकारिक यूनियन हो। प्रेस मजदुरहरूको हक, हित र अधिकारको लागि स्थापित यस यूनियनले २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेको थियो।

कार्यक्षेत्र र फैलावट

मुद्रण तथा प्रकाशन उद्योगसँग सम्बन्धित प्रिन्टिङ प्रेस, स्क्रीन प्रिन्टिङ, कम्प्युटर डेस्कटप पब्लिसिङ, जेरोग्राफी, ग्राफिक डिजाइनिङ, पत्रपत्रिका वितरण र यस्तै प्रकृतिका अन्य उद्योगहरूमा काम गरे बापत पारिश्रमिक लिने व्यक्तिहरू यस यूनियनको सदस्य छन् ।
श्रम विभागमा ८ नं. मा दर्ता भएको यो यूनियनमा हाल ६० महिलासहित ७५० जना शुल्क तिर्ने र ३१२ वटा प्रेसका जम्मा १७३१ जना हस्ताक्षर सदस्य रहेका छन् । पूर्वमा सुनसरीदेखि पश्चिममा कञ्चनपुरसम्म फैलिएको यस यूनियन अधिराज्यका ११ वटा जिल्लामा एउटा महिला मजदुर विभाग सहित २० वटा कमिटीहरू क्रियाशील रहेका छन् । हालसम्म यस यूनियनले पाँच वटा राष्ट्रिय सम्मेलनहरू गरिसकेका छन् ।

राष्ट्रिय अधिवेशनहरू

पहिलो राष्ट्रिय सम्मेलन साउन ०५, २०४९
दोस्रो राष्ट्रिय सम्मेलन पुस १५, २०५२
तेस्रो राष्ट्रिय सम्मेलन माघ १६, २०५५
चौथो राष्ट्रिय सम्मेलन जेठ २५, २०५९
पाँचौं राष्ट्रिय सम्मेलन असार ०४, २०६२

राष्ट्रिय र अन्तरराष्ट्रिय आबद्धता

राष्ट्रिय रूपमा जिफण्टसँग आबद्ध रहेको यस यूनियनले अन्तरराष्ट्रिय क्षेत्रमा ग्लोवल यूनियन फेडेरेसन(यूनियन नेर्टवर्क (युएनआई) इन्टरनेसनलसँग सम्बन्ध स्थापित भएको छ ।

प्रमुख आन्दोलन र गतिविधि

 यूनियन विस्तारको लागि पंचायती कालमा साहित्यिक कार्यक्रम, विचार गोष्ठी, पिकनिक जस्ता रचनात्मक कार्यक्रमहरूको निरन्तर संचालन र सोभिनियर, जनदृष्टि र मजदुर आवाज बुलेटिन जस्ता सामग्रीको प्रकाशन गर्दै आएको थियो ।
 ट्रेड यूनियन शिक्षाको सन्दर्भमा यस यूनियनले सदस्यहरूलाई श्रम ऐन, ट्रेड यूनियन ऐन, सामूहिक सम्झौता, श्रमनीतिका साथै विभिन्न विषयमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै गरिएको छ ।
 प्रकाशनको क्षेत्रमा वाषिर्क रूपमा मुद्रण संसारका साथै 'हामी महासंघ हौं' ट्रेड यूनियन डाइरेक्टोरी-२०५३, मुद्रण डाइरेक्टरी-२००४ प्रकाशित गरी वितरण गरिएका छन् ।

:: नेपाल अटो-मेकानिक्स ट्रेड यूनियन, (नेअट्रेयू) <माथि>
स्थापनाको हिसाबले नौलो देखिएपनि अटो मेकानिक्सहरूको संगठित भूमिका पुरानो छ । २००३ सालमा बिराटनगरबाट शुरू भएको मजदुर आन्दोलनमा अटो-मेकानिक्सहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । २००७ सालमा राणा शासन विरुद्ध अखिल नेपाल ट्रेड यूनियन काग्रेसले गरेको आन्दोलनमा अटो-मेकानिक्सले ट्याक्टरलाई ट्याङकमा परिणत गरी राणाहरूका सेनालाई पराजित गर्न योगदान पुर्याएका थिए।
२०३६ सालबाट नेस्वमयूको झण्डामुनी गोलबन्द हुन शुरू गरेका अटो-मेकानिक्सहरू बहुदलिय व्यवस्थाको स्थापनासंगै छुट्टै यूनियन बनाउने प्रयत्नमा लागे । २०५० साल चैत्र २० गते मोटरसाइकल मेकानिक्सहरूको बीचमा नेपाल मोटरसाइकल वर्कशप मजदुर यूनियन स्थापना भयो । २०५२ साल चैत्र २४ गते मोटर मेकानिक्सहरूको संगठन नेपाल स्वतन्त्र अटो-मेकानिक्स मजदुर यूनियन गठन गरियो । जिफण्टको विषयगत उद्योग अभियान अन्तर्गत राष्ट्रिय संघहरूको पुनर्संरचनाको क्रममा २०५४ श्रावण ४ गते यी दुइ राष्ट्रिय संघहरू बीच मिलान गरी नेपाल अटो-मेकानिक्स ट्रेड यूनियनको स्थापना गरियो ।

कार्यक्षेत्र र फैलावट

नेपाल अटोमेकानिक्स ट्रेड यूनियनको फैलावटको क्षेत्र अरुभन्दा अलि भिन्न छ। यस यूनियनभित्र विभिन्न किसिमका इन्जिन मर्मत गर्ने अटो वर्कशपहरू, डेन्टिङ पेन्टिङ गर्ने वर्कशपहरू, च्यासिस र बडी निर्माण गर्ने वर्कशपहरू, स्प्रिङ पत्ति, रेडिएटर मर्मत गर्ने वर्कशपहरू, क्रैंक कटिङ र अटोर्-इन्जिनियरिङ वर्कशपहरू, अटो इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स र हेड मर्मत गर्ने वर्कशप र फ्युल पम्प मर्मत गर्ने वर्कशपहरू यस यूनियनको क्षेत्रमा पर्दछ।
यस्तै र्सर्भिसिङ र ग्रिजिङका क्षेत्रहरू, लेथ-मेशिन, मिलिङ-मेशिन तथा ब्लक बोरीङ, लुब्रिकेन्टस् उत्पादन र बिक्री वितरणका क्षेत्रहरू, डिजेल र पेट्रोल पम्प तथा अटो पार्टस क्षेत्र, अटो मेकानिकल सम्बन्धी प्राविधिक तालिम दिने संस्थाहरू तथा ड्राइभिङ इन्स्टीच्युटहरू, अटो पार्किङका साथै अटो इन्जिनियरीङ्ग तथा सवारी साधन खरीद-विक्रीका क्षेत्रहरू टायर ट्यूब मर्मत तथा उत्पादन, रिसोलिङ गर्ने वर्कशपहरू र सिट हुट मर्मत गर्ने वर्कशपहरू र अटो मोबाइलका साधन तथा पार्टस उत्पादन र बिक्री प्रवर्द्धनका क्षेत्रमा कार्यरत श्रमिकहरू पनि यस यूनियनको कार्य क्षेत्र अन्तरगत पर्दछन्।
यो यूनियनमा हाल ५४७८ जना शुल्क तिर्ने र ६१०० जना हस्ताक्षर सदस्य रहेका छन्। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको यस यूनियनको अधिराज्यका २६ वटा जिल्लाका प्रमुख शहरहरूमा ५० वटा कमिटीहरू क्रियाशील रहेको छ । जसमा ४१० जना संगठित सदस्यहरू रहेका छन् । हालसम्म यस यूनियनले दुइ वटा राष्ट्रिय अधिवेशनहरू गरिसकेको छ ।

राष्ट्रिय अधिवेशनहरू

प्रथम राष्ट्रिय अधिवेशन २०५६ पौष २४ र २५ गते, काठमाडौं
दोस्रो राष्ट्रिय अधिवेशन २०६० माघ २४ र २५ गते, काठमाडौं

आबद्धता

राष्ट्रियस्तरमा जिफण्टमा आबद्ध रहँदै आएको यस यूनियनले अन्तरराष्ट्रिय तहमा इन्टरनेसनल मेटल वर्कर्स् फेडेरेसन (आइएमएफ) मा आबद्धताका लागि आवेदन दिएको छ ।

गतिविधिहरू

यूनियनका नियिमत कामका अतिरिक्त मूल रूपमा कार्यकर्ताको विविध खालका क्षमता अभिवृद्धि प्रशिक्षण, अटो मेकानिक्स सम्बन्धी व्यावसायिक तालिम, ज्यालासूची निर्धारण अभियान, श्रमिक परिचय पत्र तथा वर्कशपको नाममा प्रमाणपत्र वितरण अभियान, कार्यथलोमा आवश्यक सीप र ज्ञान सम्बन्धी विषयगत प्रकाशन र श्रमिकको बच्चाबच्चीलाई विभिन्न विद्यालयमा शैक्षिक छात्रवृत्ति उपलव्ध गराउने, तालिम केन्द्र संचालन गर्ने र कार्यकर्ता कल्याणकोष परिचालन गर्ने अभियानहरू उल्लेखनीय रहेको छ।

:: नेपाल बिजुली, पेम्बर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक-नेपाल) <माथि>
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक-नेपाल) निर्माण क्षेत्रका मजदुरहरूको राष्ट्रिय ट्रेड यूनियन संघ हो । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई एउटै यूनियनमा संगठित गरी सम्मानित नागरीकको रूपमा स्थापीत गर्न निर्माण क्षेत्रमा कार्यरत रहेका ४ वटा यूनियनहरू नेपाल स्वतन्त्र बिजुली मजदुर यूनियन, नेपाल स्वतन्त्र पेण्टर मजदुर यूनियन, नेपाल प्लम्बर स्वतन्त्र मजदुर यूनियन र नेपाल स्वतन्त्र निर्माण मजदुर यूनियन बीचमा एकिकरणबाट २०५४ साल जेष्ठ १८ गते क्यूपेक-नेपालको स्थापना भएको हो ।

कार्यक्षेत्र र फैलावट

यस यूनियनले निर्माण क्षेत्रमा डकर्मी, सिकर्मी, बिजुलीको काम गर्ने, प्लम्बर, हाउस पेण्टर, होडिङ्ग बोर्ड तथा र्साईनबोर्ड निर्माण गर्ने, मारवल तथा चिप्समा काम गर्ने, पुल निर्माण गर्ने, बिजुली भवन सिंचाई नहर, सडक निर्माण गर्नेर्, इटा भट्टामा काम गर्ने, बगैचा बनाउने, गिट्टी कुट्ने, बालुवा खन्ने, बोक्ने, चाल्ने, ढलान गर्ने, ठूला-ठूला निर्माण परियोजनाहरूमा काम गर्ने, सःमिल तथा फर्निचरमा काम गर्ने र चिप्स मार्वलमा काम गर्ने श्रमिकहरूलाई संगठित गर्दछ ।
निर्माण क्षेत्र अनौपचारिक श्रम क्षेत्रमा कृषि मजदुरपछि नेपालकै दोस्रो ठूलो श्रम क्षेत्र हो । तिनै श्रमिकहरूलाई संगठित गर्ने अभियान अन्तरगत यस यूनियनको निर्माण भएको हो । अधिराज्यको १३ वटा अञ्चलको ४२ वटा जिल्लामा यस यूनियनको विस्तार भइसकेको छ ।
क्यूपेक नेपालमा हाल ६५० महिलासहित ६२२८ जना शुल्क तिर्ने र जम्मा ३१२८० जना हस्ताक्षर सदस्य रहेका छन् । पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको यस यूनियन अधिराज्यका १० महिला मजदुर विभाग, ३० वटा जिल्ला कमिटी नगर, वडा र गाउँ कमिटी कमिटीहरू क्रियाशील रहेका छन् । हालसम्म यस यूनियनले दुइ वटा राष्ट्रिय सम्मेलनहरू गरिसकेको छ ।

राष्ट्रिय अधिवेशनहरू

पहिलो अधिवेशन २०५५ फागुण २२-२४ गते काठमाडौं
दोस्रो राष्ट्रिय अधिवेशन २०५९ फागुण २१-२३ गते काठमाडौं
तेस्रो राष्ट्रिय अधिवेशन २०६३ चैत २७-२८ गते काठमाडौं

आबद्धता

क्युपेक नेपाल राष्ट्रिय स्तरमा जिफन्टसँग आवद्ध रहेको छ। अन्तरराष्ट्रिय स्तरमा २०५६ सालदेखि नै यो यूनियन अन्तरराष्ट्रिय निर्माण मजदुर संघ (बीडब्लुआई) सँग आबद्ध रहेको छ ।

विगतमा भएका गतिविधि

 यूनियन निर्माणको र विकासको सन्दर्भमा सदस्यता विस्तार, नेतृत्व विकास, कार्यालय व्यवस्थापन र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा तालिमहरू र महिला केन्द्रित कार्यक्रमहरू निरन्तर संचालन भएका छन्।
 श्रमिक हितका पक्षमा बचतकोष संचालन, श्रम कानुन कार्यान्वयनमा पहल सामाजिक सुरक्षा, स्थानीय रूपमा माग प्रस्तुत, दुर्घटनाका पीडित सदस्यहरूलाई सहायताका कामहरू हुँदै आएका छन् ।
 सुचना व्यवस्थापन र प्रवाहका लागि तथ्यांक संकलन र निर्माण कर्मीका साथै अन्य चेतनामूलक सामग्रीको प्रकाशन गरेको छ।
 प्रवासी मजदुरलाई सहयोग गर्नुका साथै अन्य विभिन्न विषयमा अन्तरक्रिया गर्दै आएको छ।

:: नेपाल स्वतन्त्र सफाई मजदुर यूनियन, (नेस्वसमयू) <माथि>
नेपाल स्वतन्त्र सफाई मजदुर यूनियनको स्थापना २०४७ असार १ गते स्थापना भएको हो । २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर यूनियनमा संगठित सफाइ मजदुरहरू बीच सफाइ मजदुर प्रारम्भिक कमिटी गठन गरिएको थियो । त्यसै साल उक्त कमिटीले काठमाडौं नगर पञ्चायतमा आफ्ना समस्यालाई लिएर १५ सूत्रीय माग पेश गरी हडताल गर्यो । यो आन्दोलन नै सफाइ मजदुरहरूको सबैभन्दा पहिलो संगठित आन्दोलन थियो । प्रशासनको दमनको बाबजुद पनि त्यस आन्दोलनले धेरै मागहरू पूरा गराउन सफल भएको थियो ।
यस आन्दोलनले काठमाडौं नगरपञ्चायतमा ज्यालादारी मात्र हुन सक्ने कुचीकारहरूले स्थायी नियुक्ति पाएका थिए । कुचीकारहरू आफैले व्यवस्था गर्दै आएको च्वाफि र खर्पन नगरपञ्चायतले व्यवस्था गर्ने, यूनिफर्म र औषधिको व्यवस्थाका साथै नाइकेले थप भत्ता पाउने व्यवस्था भयो । यो सफाइ मजदुरहरूको ठूलो सफलता थियो । संगठित हुन थालेको १० वर्षपछि २०४७ असार १ गते नेपाल स्वतन्त्र सफाइ मजदुर यूनियन संघको रूपमा श्रम विभागमा दर्ता भएको छ ।

कार्य क्षेत्र र फैलावट

काठमाडौं उपत्यकाबाट शुरू भएको नेस्वसमयू स्थापनाको लामो समयसम्म उपत्यकामा नै सिमित रह्यो । २०४७ सालको जनआन्दोलन पछि देशका विभिन्न भागमा यसको कार्यक्षेत्र पनि विस्तार हुन थाल्यो । यो यूनियन हाल पूर्वको झापादेखि पश्चिमको बुटवलसम्म फैलिएको छ। अधिराज्यभर फैलिएका ५८ वटा नगरपालिका र अन्य बस्ती, कार्यालय, अस्पताल आदि ठाउँमा सफाइ काम गर्ने र फोहर संकलन गर्ने श्रमिकहरू नै यस यूनियनको कार्य क्षेत्र बनेको छ । हालसम्म सातवटा नगर कमिटी, भक्तपुर जिल्ला कमिटी, उपत्यका महिला विभाग र पाचवटा प्रतिष्ठान स्तरको यूनियन रहेको छ । श्रमिक सहभागिताको क्षेत्रमा महिला बहुल रहेको यस यूनियनको शुल्क तिर्ने सदस्य संख्या १,३३४ रहेको छ, जसमध्ये ७०२ जना महिला छन् । नेस्वसमयूले हालसम्म तिनवटा राष्ट्रिय अधिवेशनहरू गरिसकेको छ ।

राष्ट्रिय अधिवेशनहरू

पहिलो राष्ट्रिय अधिवेशन २०५२ साल माघ २० गते काठमाडौं
दोस्रो राष्ट्रिय अधिवेशन २०५६ साल मंसिर ४ गते काठमाडौं
तेस्रो राष्ट्रिय अधिवेशन २०५९ साल फागुन १० गते काठमाडौं
चौथो राष्ट्रिय अधिवेशन २०६३ साल असार १ गते काठमाडौं

आबद्धता

स्थापनाको समयदेखि नै राष्ट्रिय स्तरमा जिफण्टसँग आबद्ध रहँदै आएको यो यूनियन २०६० साल भदौबाट अन्तरराष्ट्रिय ट्रेड यूनियन केन्द्र आइसिइएममा आबद्ध भएको छ ।

प्रमुख आन्दोलन र गतिविधिहरू

 २०४७ माघ २ गते यस यूनियनको तर्फबाट काठमाडौं नगरपालिकामा ३६ सूत्रीय माग राखी गरिएको आन्दोलनबाट अस्थायी मजदुरहरूले स्थायी नियुक्ति पाउनुका साथै निष्कासित मजदुरहरू पुनर्बहालि लगायतका माग पुरा भएका थिए । यसरी नै २०५५ देखि २०५७ मा भक्तपुर र २०५८ सम्म ललितपुरमा पनि विभिन्न माग राखी आन्दोलन भएको थियो ।
 २०५५ साल वैसाख १७ गते बाट काठमाडौं महानगरपालिकामा २० सूत्रीय माग राखी गरिएको हडताल छैटौं दिनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा वार्ता गरी सम्झौतामा टुंगियो ।
 सफाइ श्रमिक बीच चेतना अभिवृद्धिका लागि व्यवसायजन्य स्वास्थ्य र सुरक्षा लगायत अन्य आवश्यक विषयमा प्रशिक्षण दिनुका साथै बेलाबेलामा स्वास्थ्य शिविर, केटाकेटी बीच चित्रकला प्रतियोगिता, रक्तदान जस्ता कार्यक्रम गर्दै आएको छ ।
 सफाइ बस्तीका शिशुहरूको हेरचाहका लागि २०५२ सालदेखि २०५६ सालसम्म ढल्को र सवलबहालमा शिशुस्याहार केन्द्र सञ्चालन, सफाइ वस्तीहरूमा अनौपचारिक शिक्षा र प्रौढ शिक्षा सञ्चालन र बालबालिकालाई विद्यालय भर्ना गर्ने लगायतका सामाजिक सरोकारका विषयमा पनि कार्यक्रमहरू हुँदै आएकाछन् ।

:: नेपाल रिक्सा चालक यूनियन, (नेरिचायू) <माथि>
नेपाल अधिराज्यका विभिन्न जिल्लामा कार्यरत रिक्सा चालक, भ्यान, ठेला, टाँगा तथा साइकल रिक्सा मर्मत गर्ने मजदुरहरूको पेशागत हकहितको संरक्षण, सम्वर्द्धन र अधिकार प्राप्तिका लागि संगठित रूपमा काम गर्न २०५३ साल चैत्र २३ गते हेटौंडामा भएको प्रथम राष्ट्रिय भेलाले नेपाल रिक्सा चालक यूनियनको गठन गरेको छ ।

कामको क्षेत्र र फैलावट

पूर्वको कोशीदेखि पश्चिमको महाकाली अञ्चलसम्म फैलिएको यस यूनियनमा १०२५० जना हस्ताक्षर सदस्यहरू छन्। जसमा १ हजार जना शुल्क तिर्ने सदस्यहरू छन्।
यस यूनियनको संरचनामा केन्द्रीय कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र स्तरका इलाका कमिटी, इकाई कमिटी, नगर कमिटी र गाउँ कमिटी निर्माण गरिएको छ।

राष्ट्रिय सम्मेलन

पहिलो राष्ट्रिय सम्मेलन २०५६,
दोस्रो राष्ट्रिय सम्मेलन २०६० फागुन २९, इटहरी

प्रमुख गतिविधि

 रिक्सा स्टाण्डको व्यवस्था, रिक्सा चालक माथि गुण्डा तथा प्रहरीद्वारा हुने कुटपीट तथा लुटपाटबाट सुरक्षा र रिक्सा मालिकलाई दिने भाडा दरमा एक रूपता हुनु पर्ने कुरामा जोड दिदै यस यूनियनले आफ्नो गतिविधि संचालन गर्दै आएको छ।
 लगातार रिक्सा चलाउने चालकलाई हप्तामा एक दिनको भाडा मिन्हा, रिक्सा चालक परिचयपत्रको व्यवस्था, दुर्घटना बीमाको व्यवस्था यस क्षेत्रका अरु सरोकारका विषय हुन् ।
 एकले सवैलाई सवैले एकलाई भन्ने सिद्धान्तका आधारमा आपसी सहयोगको लागि स्थानिय तहमा दैनिक रकम जम्मा गरेर चालक विमा कोष पनि संचालन गरेको छ।

:: नेपाल स्वतन्त्र खाद्य-पेय मजदुर यूनियन, (नेस्वखापेमयू) <माथि>
नेपाल स्वतन्त्र र खाद्य तथा पेय मजदूर यूनियन देशभरिका खाद्य तथा पेय पदार्थहरूको उत्पादन प्रशोधन भण्डारण एवं वितरण क्षेत्रमा काम गर्ने श्रमिकहरूको यूनियन हो । जिफन्टको विषयगत यूनियन अभियान अन्तरगत नेस्वमयूमा संगठित रहेका ट्रेड यूनियनहरू मध्येको खाद्य वस्तु तथा पेय पदार्थसँग सम्बन्धित प्रतिष्ठानका श्रमिकहरूलाई समेट्ने गरी मिति २०५४ साल यूनियन स्थापना गरेको हो । जिफण्टको बाह्रौ सदस्यको रूपमा रहेको यो यूनियन ०५४ साल मसिंर १७ गते श्रम विभागमा ४२ नंं मा दर्ता भएको छ ।

कार्यक्षेत्र र फैलावट

देशभरिका खाद्य तथा पेय पदार्थहरूको उत्पादन प्रशोधन भण्डारण एवं वितरण सम्बन्धी काम गर्ने श्रमिकहरूको राष्ट्रिय संघका रूपमा रहेको नेस्वखापेमयू अन्तर्गत पर्ने उद्योगहरूलाई निम्न अनुसार ६ वटा क्षेत्रमा विभाजन गरिएको छ ।
 वनस्पति ध्यू, तेल तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरू
 चिनी तथा खाँडसारी उद्योगहरू
 दाल, चामल, चिउरा, मैदा, पिठो, नुन, मसला आदिसँग सम्बन्धित उद्योगहरू ।
 विस्कुट, चाउचाउ, कन्फेक्सनरी, पाउरोटी, जाम, अचार दालमोठ आदीसँग सम्बन्धित उद्योगहरू
 वियर तथा मदिरा जन्य उद्योगहरू ।
 जुस हल्का पेय पदार्थ, पानी, आदिसँग सम्बन्धित उद्योगहरू ।
उल्लेखित क्षेत्रका ५९ वटा प्रतिष्ठानस्तरका यूनियनमा ६०९ जना सदस्य संगठित रहेका छन्, जसमा २३५ जना महिला सदस्य छन् । यस संघको २२१० शुल्क तिर्ने सदस्यमा ६५७ जना महिला रहेका छन्।

राष्ट्रिय अधिवेशनहरू

प्रथम राष्ट्रिय सम्मेलन २०५५ फाल्गुण १५-१६ चितवन
दोस्रो राष्ट्रिय सम्मेलन २०५८ चैत्र ३१ गते काठमाडौं
तेस्रो राष्ट्रिय सम्मेलन २०६२ भदौ २८ गते ललितपुर

:: नेपाल स्वतन्त्र केमिकल-आइरन मजदुर यूनियन, (नेस्वकेआमयू) <माथि>
२०३६ सालदेखि नेपाल स्वतन्त्र मजदुर यूनियनमा देशभरीका सवै औद्योगिक श्रमिकहरू संगठित हुने क्रममा यस क्षेत्रका श्रमिकहरू पनि यसै अन्तरगत क्रियासिल रहदै आएका थिए । श्रमिक आन्दोलनलनई अझै व्यवस्थित गर्दै कामलाई सुगम र प्रभावकारी बनाउने सन्दर्भमा २०५२ सालमा सम्पन्न जिफण्टले शुरू गरेको विषयगत उद्योग अभियान अन्तरगत औद्योगिक क्षेत्रमध्ये रसायन, धातुजन्य, उर्जा तथा केमिकलसँग सम्बन्धित प्रतिष्ठानहरूलाई समेट्ने गरी छुट्टै यूनियन बनाउने निर्णयअनुसार २०५४ साल कार्त्तिक ९ गते हेटौँडामा प्रथम राष्ट्रिय भेला आयोजना गरी नेपाल स्वतन्त्र केमिकल तथा आईरन मजदुर यूनियनको स्थापना गरियो । जिफण्टको बाहृौ सदस्यको रूपमा रहेको यस यूनियन २०५४ मंसिर १२ गते श्रम विभागमा ४३ नम्वरमा दर्ता भएको छ ।

कार्यक्षेत्र र फैलावट

नेस्वकेआमयूको कार्यक्षेत्रमा पर्ने नेपाल अधिराज्यभर क्रियासिल प्रतिष्ठानहरूमा समान रूपले कामलाई विस्तार, विकास र व्यवस्थित गर्ने उद्धेस्यले यूनियनको समग्र कार्य क्षेत्रलाई चार प्रमुख क्षेत्रमा विभाजन गरेको छ । यी चारवटा प्रमुख क्षेत्रहरूले समेटने उद्योगहरू र त्यस अन्तरगत यूनियनको अवस्था निम्न अनुसार रहेको छ ।
१. उर्जा क्षेत्र : ग्याँस, पेट्रोलियम पदार्थ, लुव्रिकेण्ट, जल विद्युत, थर्मल प्लाण्ट, सौर्य उर्जा र विण्ड मिल, ड्राईसेल तथा अन्य व्याट्री जस्ता उर्जा जन्य बस्तुको उत्पादन, प्रशारण र विक्री वितरण गर्ने उद्योगहरू
२. खनिज क्षेत्र : सिमेण्ट, चुन, सिसा, जस्ता, फलाम, म्याग्नेर्साईट, मार्वल, चुन ढुङ्गा, कोईला, अभ्रख र अन्य धातुजन्य खनिज, पदार्थहरूको उत्खनन्, प्रशोधन र उत्पादन गर्ने उद्योगहरू
३. मेटल क्षेत्र : स्टिल स्ट्रक्चर, रोलिङ्ग मिल, मेशिनरी पार्टपुर्जा, स्टिल फनिर्चर, धातु निर्मित पाईप, स्टिल तथा आल्मोनियम, सेटामिक्स, तथा स्यानेटरी उद्योग भाँडाकुँडा, विद्युतिय तार तथा उपकरणहरू र अन्य धातु निर्मित तयारी वस्तुहरू उत्पादन गर्ने उद्योगहरू
४. केमिकल क्षेत्र : औषधि, रसायनिक मल, पेष्टिर्साईड, अलकत्रा, कागज र कलमजन्य बस्तु, सलाई, टुथपेष्ट, टुथ व्रस, सावुनजन्य बस्तु, रंङ्ग-रोगन, कत्थामिल, रोजिन, रवर तथा रवर निर्मित टायर, टयूव पल्प एण्ड पेपर, प्लाष्टिकजन्य बस्तु तथा पोलिथिन निर्मित पाईपर् इत्यादी उत्पादन र प्रशोधन गर्ने उद्योगहरू साथै मेडिकल सेवासगँ सम्वधिन्त प्रतिष्ठानहरू
देशभरमा ९५ वटा क्रियासिल युनियनमध्ये ८४ वटा दर्ता यूनियन रहेको यस यूनियनमा ५०३५ जना शुल्क तिर्ने सदस्य रहेका छन् । यूनियनका कमिटीमा संगठित रहेका ७२७ जना सदस्यमध्ये ८३ जना महिला छन् ।

राष्ट्रिय अधिवेशनहरू

प्रथम राष्ट्रिय अधिवेशन फागुण २८-२९, २०५९, रूपन्देही
दोस्रो राष्ट्रिय अधिवेशन फागुण २५-२६, २०५८, ललितपुर
तेस्रो राष्ट्रिय अधिवेशन जेठ २१-२२, २०६२, नवलपरासी

आबद्धता

राष्ट्रिय स्तरमा नेपाल ट्रेड यूनियन महासंघसँग सम्वद्ध रहि आएको यस यूनियन अर्न्तर्राष्ट्रिय रूपमा रसायन, उर्जा, खानी तथा अन्य आम श्रमिकहरूको ग्लोवल यूनियन फेडेरेसन इन्टरनेसन केमिकल, एनर्जी, माइनिङ तथा जनरल वर्कर्स् फेडेरेसन (आईसिईएम) सँग २०५६ असार देखि सम्वद्ध रहँदै आएको छ ।

प्रमुख गतिविधि

• युनियनको नियमित कामकाके समाथमा यस युनियनले यूनियन व्यवस्थापन र जनशक्ति विकासका लागि शैक्षिक गतिविधिलाई उच्च प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ।

:: नेपाल कृषि मजदुर संघ, नेपाल, (कृमसंघ, नेपाल) <माथि>
२०५२ सालको माघमा कमैया श्रमिकहरूको राष्ट्रिय भेलाले कमैया मुक्ति मंचको गठन गरेको थियो। जिफण्टको दोस्रो महाधिवेसनबाट कृषि क्षेत्रमा कार्यरत मजदुरहरूलाई संगठित र आन्दोलित गर्नु पर्छ भन्ने उद्देश्यकासाथ २०५३ आश्विन ३-५ गते २० जिल्लाका ६० जना कृषि मजदुर प्रतिनिधिहरूको भेलाले कृषि मजदुर संघ, नेपालका स्थापना भएको हो । यो यूनियन २०५९ फागुन ३० गते ३५ हजार २ सय ५७ कृषि श्रमिकहरूको हस्ताक्षरसहित श्रम विभागमा दर्ता भएको छ ।

कामको क्षेत्र र फैलावट

कृषि क्षेत्रमा काम गर्ने हली, गोठाला, खेताला, कृषि र्फममा काम गर्ने श्रमिकहरू लगायत सबैखाले कृषि मजदुरहरू यस यूनियनले समेट्ने गर्दछ । हाल यस यूनियनमा ६ अञ्चल कमिटी, २३ जिल्ला कमिटि, १ केन्द्रीय महिला विभाग, केही जिल्ला महिला विभाग, ६४ इलाका कमिटी, २०४ गाउँ कमिटीहरू क्रियाशील छन् । हाल यस यूनियनमा ५१८८० सदस्य रहेका छन् । कृषि मजदुर संघले २ वटा राष्ट्रिय अधिवेशनहरू सम्पन्न गरिसकेका छन्-

प्रथम अधिवेशन २०५६ पुस १६ गते सिराहा
दोस्रो अधिवेशन २०६१ मंसीरमा विरगंज
दोस्रो अधिवेशन २०६४ पुस १४–१५ मा बुटवल

प्रमुख आन्दोलन र गतिविधिहरू

 २०५६ मा पहिलो पटक कृषि श्रमिकहरूका लागि न्यूनतम ज्याला निर्धारणमा विशेष भूमिका निर्वाह गर्नुका साथै गाविस र जिविस मार्फत् देशव्यापी रूपमा न्यूनतम ज्याला घोषणा अभियान संचालन गरियो।
 २०५२ सालबाट शुरू गरिएको कमैया मुक्ति अभियानलाई निरन्तर रूपमा अगाडि बढाउँदै अन्नत २०५९ साउन दुइ गते कमैया मुक्तिको घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो।
 पश्चिम नेपालका दाङ, बांके, बर्दिया, कैलाली, कन्चनपुर, रूपन्देही, कपिलवस्तु र नवलपरासीका जिल्लामा कृषि कमैया विशेष कार्यक्रम संचालन गर्नुका साथै समयानुसार ज्याला वृद्धि गर्दै लैजान आधार तयार गर्न उद्देश्यले ज्याला सूचीकरण प्रक्रिया शुरू गरियो ।
 श्रमिकहरू बीच ट्रेड यूनियन शिक्षा कार्यक्रमहरू संचालन गर्ने, कृषि श्रम क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षको खोज अनुसन्धान गर्ने उनीहरूले भागिरहेका सामाजिक अपमान र उत्पीडनका तथ्यहरू सार्वजनिक गर्ने काम भएका छन्।
 कृषि श्रमिकका आर्थिक तथा सामाजिक उन्नतिको लागि संगठन निर्माण, चेतना अभिवृद्धि र उनीहरूको अधिकार रक्षाका लागि स्थानीय आवश्यकता र माग अनुसार विविध गतिविधिहरू संचालन हुँदै आएका छन्।
 महिला श्रमिकहरूको बीचमा चेतना वृद्धिका लागि विशेष कार्यक्रमहरू संचालन हुँदै आएका छन् ।
 ज्याला/तलब, कार्यघन्टा, कामका अवस्था, आइपर्ने कठिनाइहरू र श्रम विवाद आदि विषयहरूमा जग्गाधनीहरू भूमिपतिहरूसँग सामूहिक सौदावाजी तथा करार र सम्झौताका प्रक्रियाहरू अप्नाइएका छन् ।

:: नेपाल सडक व्यापार श्रमिक संघ (नेसश्रसंघ) <माथि>