29/03/2012
२०६८ चैत १५ गते, इण्डियन एयर लाइन्समा कार्यरत ६ जना श्रमिकहरुलाई श्रम अदालतले ४५ दिनभित्र स्थायी गरी काममा लगाउन आदेश सहितको फैसला गरेको छ ।
फैसलामा श्रम अदालतले ६ जना श्रमिकहरुलाई ४५ दिनभित्र स्थायी गरी काममा लगाउन मौका दिएको र सो अवधिभित्र फैसला कार्यान्वयन नगरेमा इण्डियन एयरलाइन्सको नेपाल स्थित कन्ट्रि मेनेजरलाई अदालतको अपहेलनामा दुई महिनासम्म थुनामा राख्न सक्ने उल्लेख गरेको छ ।
स्मरणीय छ, गत वर्ष सर्वोच्च अदालतले इण्डियन एयर लाइन्समा कार्यरत ३९ जना निष्कासित मजदुरहरुलाई स्थायी गरी काममा लगाउन आदेश दिएका थिए । इण्डियन एयरलाइन्सले ३९ जनामध्ये २८ जनालाई मात्र स्थायी गरी काममा लगाएका थिए, बाँकी ११ जना लाई स्थायी पनि गरेनन्, काममा पनि लगाएनन् । तिनै ११ मध्ये ६ जना मजदुरहरुले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि श्रम अदालतमा मुद्दा दायर गरेका थिए ।