25/12/2011

दोलखा । २०६८ मंसिर २९ गते, दोलखा जिल्लाको किर्नेमा सञ्चालित जलविद्यूत आयोजना खिम्ती सर्भिसेज प्रालिले ८९ जना श्रमिकहरुलाई गैरकानुनी ढंगबाट निष्कासन गरेको विरोधमा निष्कासित श्रमिकहरुले पुनर्बहालीको माग गर्दै मंसिर २९ गतेदेखि आयोजनाको कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।
यसै सन्दर्भमा नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनको आयोजनामा निष्कासित श्रमिकहरूको पुनर्बहालीको माग गर्दै गत पौष ९ गते दोलखामा विशाल र्याली तथा आमसभा भएको थियो । सभामा ट्रेड युनियन महासंघ, जिफन्ट राष्ट्रिय कमिटी, ट्रेड युनियन कांग्रेस स्वतन्त्र तथा अखिल नेपाल ट्रेड युनियन महासंघले ऐक्यबद्धता जनाएका थिए ।
त्यस्तै सो सभामा नेकपा एमाले, युवा संघ नेपाल, अनेरास्ववियुलगायतका संघ संस्थाहरुले समेत ऐक्यबद्धता जनाएका थिए ।
यसै सन्दर्भमा निष्कासित श्रमिकहरुले पुनर्बहाली नभएमा पौष १० गतेदेखि १२ घन्टे रिले अनसन गर्ने घोषणा समेत गरेका छन् ।