25/10/2011

२०६८ कात्तिक ६ गते, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटियुसीसी)को आयोजनामा दोस्रो राष्ट्रिय ट्रेड युनियन सम्मेलन काठमाडौंमा भव्यताकासाथ सम्पन्न भयो ।
राष्ट्रिय सभागृहमा सम्पन्न उक्त राष्ट्रिय सम्मेलनको पहिलो सत्रमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमका सात जना सहअध्यक्षमध्येको एक जना जिफन्टका अध्यक्ष विष्णु रिमाल हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्ष विष्णु रिमालले जेटियुसीसीको स्थापना अघि ट्रेड युनियनहरुको सम्बन्धको स्थिति र जेटियुसीसीको स्थापना पछि ट्रेड युनियन आन्दोलनमा भएको सकारात्मक उपलब्धिबारे प्रकाश पार्नुभएको थियो ।
अध्यक्ष विष्णु रिमालले भन्नुभयो, “हामी भिन्न भिन्न राजनीतिक विचार बोकेका ट्रेड युनियनकर्मीहरु एक समय एक आपसमा काटाकाट र मारामारको स्थितिमा थियौं, त्यसरी ट्रेड युनियन आन्दोलन सशक्त हुँदैन भन्ने महसुस गरेर हामीले जेटियुसीसीको स्थापना गर्यौं, अहिले हामी कतिपय श्रम एजेण्डाहरु संविधानमा श्रमिकका अधिकारहरु सुनिश्चितता, सामाजिक सुरक्षा, श्रम आयोग र श्रम बजार सुधारका साथै न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया जस्ता कतिपय महत्वपूर्ण विषयहरुमा एउटै धारणा बनाएर व्यवसायी र सरकारसँग छलफल गर्ने र सम्झौता गर्ने तहमा समेत हामी पुगेका छौं । यो जेटियुसीसीको स्थापनाको महत्वपूर्ण उपलब्धि हो ।”
उद्घाटन सत्रमा जिफन्ट केन्द्रीय योजना आयोगका सदस्य तथा आइएलओ गभर्निङबडीका डेपुटी डाइरेक्टर विन्दा पाण्डेले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यस्तै, नेपाल उद्योग परिसंघका राजेन्द्र पाण्डे, नेपाल उद्योग बाणिज्य महासंघका हंसराम पाण्डे, आइएलओका नारायण भट्टराईले सम्मेलनको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू डब्लुएफटीयुका उपमहासचिव एच महादेवन्, एलओ डेनमार्कका टिना र सास्का डा. शरण केसीले समेत सम्मेलनको सफलताको कामना गर्दै आ–आफ्नो मन्तव्य दिनुभएको थियो ।
उद्घाटन सत्रमा कार्यक्रमका सहअध्यक्षहरु एनटीयुसीआईका अध्यक्ष लक्ष्मण बस्नेत, एएनटीयुएफका पूर्व अध्यक्ष सालिकराम जम्कटेल, कोनेपका वरिष्ठ उपाध्यक्ष विश्वनाथ प्याकुरेल, एनटीयुएफका अध्यक्ष गंगाराम खड्गी, एनडिकोन्टआईका अध्यक्ष राजन भुसाल र नेपाल पैगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष तिलक थापाले मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन सत्रमा सात वटै ट्रेड युनियनका पदाधिकारीहरु र श्रमसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दोस्रो सत्रमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा ट्रेड युनियन आन्दोलनलाई सशक्त बनाउन तयार गरिएको महत्वपूर्ण कार्यपत्रहरु मूल्यांकन प्रतिवेदन सहकार्यको दूरगामी अभियान, आचार संहिता, कार्यसम्पादन नियमावली, जेटियुसीसीमा आबद्धता सम्बन्धी अवधारणा, श्रम बजार सुधार सम्बन्धी अवधारणा, ज्यालावद्धि कार्यान्वयन सम्बन्धी अवधारणा, शान्ति र संविधान सम्बन्धी प्रस्ताव र आगामी सोच र हाम्रो साझा गन्तव्य प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्यपत्रहरु सर्वसम्मतिद्वारा प्रतिनिधिहरुले अनुमोदन समेत गरेका थिए ।
संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटियुसीसी) जिफन्ट लगायत सात वटा ट्रेड युनियन महासंघहरुको साझा संयन्त्र हो । यसको पहिलो राष्ट्रिय सम्मेलन २०६५ कात्तिक ११ गते भएको थियो । जेटियुसीसीको साझा संयन्त्रभित्र जिफन्ट लगायत नेपाल ट्रेड यूनियन कांग्रेस–स्वतन्त्र, अखिल नेपाल ट्रेड यूनियन महासंघ, पेशागत महासंघ, नेपाल, नेपाल ट्रेड यूनियन फेडेरेसन, नेपाल प्रगतिशील ट्रेड यूनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ छन् ।
सम्मेलनद्वारा पारित प्रतिवेदन संलग्न
Download/View File: 438_Conference_Documents.rar