05/09/2011
२०६८ भदौ १९ गते, विगत १८ वर्षदेखि शाल्ट ट्रेडिङ लि.को आयो नुन प्याकिङमा काम गर्ने २७ जना दैनिक ज्यालादारी कामदारहरुले श्रम अदालतको २०६८ आषाढ ३१ गतेको फैसलाबाट माग अनुसार क्षतिपुर्ति पाउने भएका छन् ।
'अर्को कम्पनी खडा गरी सुविधा दिने नाममा हामीहरुलाई झुक्याउने काम गरियो' भनी जिफन्ट आबद्ध नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर यूनियनमा संगठित लक्ष्मी कटुवाल लगायत २७ जना श्रमिकहरुले मिति २०६६ कार्तिक १८ गते शाल्ट ट्रेडिङ लि. विरुद्ध क्षतिपुर्ति पाउँ भनी निवेदन दिएको थियो । सोही निवेदन उपर श्रम अदालतले सो फैसला गरेको थियो ।
शाल्ट ट्रेडिङ लि.ले आयो नुन प्याकिङ्ग गर्ने कार्यमा संलग्न कामदारहरुलाई अठार वर्षभन्दा अगाडि देखि दैनिक ज्यालादारीमा काम लगाइरहेको अवस्थामा कामदारहरुलाई स्थायी नियुक्ति पत्र नदिई सोही संस्थाकै स्वामित्वमा रहेको अर्को संस्था हिमालयन खाद्य एवं प्यकेजिङ्गमा गैरकानुनी रुपमा दुई वर्षे करार पत्र दिई नयाँ ढंगबाट काममा लगाएको थियो ।