Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

सुरक्षित वैदेशिक रोजगारीबारे प्रशिक्षण

22/08/2012

 

मोरङ । २०६९ भदौ ३ गते, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को आयोजनामा सुरक्षित वैदेशिक रोजगारका लागि जागरण अभियान अन्तरगत दुईदिने प्रशिक्षण कार्यक्रम विराटनगरमा सम्पन्न भयो । कार्यक्रमको उदघाटन जिफन्ट राष्ट्रिय कमिटीका उपमहासचिव पेम्बा लामाले गर्नुभएको थियो ।


दलालहरुको प्रलोभनमा श्रमिकले भोग्नु परिरहेको तथ्यलाई दृष्टिगत गरी महासंघले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि स्थानियतहमा नै जागरण ल्याउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।


गाउँघरका महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको सो प्रशिक्षणमा रोजीरोटीको खोजीमा प्रवासिदा झेल्नुपर्ने विभिन्न समस्या, वैदेशिक रोजगारीमा जानु भन्दा अगाडि, विदेश जाँदा बाटोमा आउनसक्ने समस्या, प्रवासमा कामको दौरान आईपर्ने समस्या, कमाएको रकमको सदुपयोग र महिला भएकोले भोग्नु पर्ने दुरुत्साहन–दुव्र्यवहार–हिंसा र मानव बेचबिखन जस्ता विषयहरु समेटिएको थियो ।


कार्यक्रममा जिफन्ट प्रवासी कमिटीका बज्र राई, नेपाल स्वास्थ्य स्वयम् सेवी संघका केन्द्रीय उपाध्यक्ष रुक्मणी कोइराला, जिफन्ट राष्ट्रिय कमिटी सदस्य अरुणा थापा, केन्द्रीय युवा कमिटी सहसचिव किशोर धमला, कोशी अंचल महिला कमिटीका अध्यक्ष नीलम ढुंगेल र मोरङ जिल्ला युवा कमिटीका उपाध्यक्ष सन्तोष खड्काले प्रशिक्षण दिनुभएको थियो ।


प्रशिक्षणमा महासंघ आबद्ध स्वास्थ्य स्वयम्सेवी संघका गाउँघरका टोलटोलमा कार्यरत स्वास्थ्य स्वयम्सेवीहरु र  यातायात क्षेत्रका श्रमिकहरुको सहभागिता थियो ।


कार्यक्रममा ओरेक नेपालका कार्यक्रम अधिकृत हेमन्त राज पौडेलले आफ्ना भनाइहरु व्यक्त गर्नुभएको थियो । जिफन्ट कोशी अंचल कमिटीका अध्यक्ष कुल बहादुर खत्रीले समापन मन्तव्य दिनुभएको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ