05/08/2012

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को यही २०६९ साउन १६ र १७ गते राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद तथा साउन १९ गते राष्ट्रिय कमिटीको ७७ औं बैठक सम्पन्न भयो ।
वैठकद्वारा पारित राजनीतिक, सांगठनिक तथा विशेष अभियानका साथै समसामयिक महत्वका विशेष प्रस्तावहरुबारे जानकारी दिने उद्देश्यले साउन २१ गते जिफन्टको केन्द्रीय कार्यालयमा प्रेस सम्मेलनको आयोजना गरिएको थियो । प्रेस सम्मेलनमा महासचिव उमेश उपाध्यायले जिफन्टद्वारा जारी प्रेस वक्तव्य पढेर सुनाउनु भएको थियो ।
प्रेस सम्मेलनमा पत्रहरुद्वारा जिफन्टको राजनीतिक प्रस्ताव, सदस्यता, प्रभावकारी श्रम विवाद समाधान, सामाजिक सुरक्षा, कोरियामा प्रवासी श्रमिकहरुले गरिरहेको आन्दोलनमा जिफन्टको ऐक्यबद्धताबारे जिज्ञासा राखेका थिए । पत्रकारहरुद्वारा उठाइएको जिज्ञासाबारे अध्यक्ष विष्णु रिमालले स्पष्ट पार्नुभएको थियो ।
प्रेस सम्मेलनमा जिफन्टका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठऽ उपाध्यक्षहरूऽ उपमहासचिव तथा सचिवहरूऽ राष्ट्रिय कमिटीका सदस्यहरूऽ घटक युनियनका पदाधिकारीहरूको सहभागिता थियो ।
जिफन्टद्वारा जारी प्रेस वक्तव्यको संक्षिप्त विवरण
— राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष क. झलनाथ खनाल तथा वरिष्ट नेता क. माधव नेपाल≤ पूर्व उप–प्रधानमन्त्रीहरू नेकपा (एमाले) का उपाध्यक्ष क. वामदेव गौतम तथा महासचिव क. ईश्वर पोखरेल अतिथि वक्ताको रूपमा आमन्त्रित हुनुहुन्थ्यो ।
— नेकपा (एमाले)का शीर्ष नेता कमरेडहरू संगै जिफन्ट महाधिवेशन प्रतिनिधि परिषदका प्रमुख क. मुकुन्द न्यौपाने, उपप्रमुख क. ललित बस्नेत र महासंघका अध्यक्ष क. विष्णु रिमालले संयुक्त रूपमा महाधिवेशन प्रतिनिधि परिषद वैठकको समुद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रम साउन १६ गते, नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा भव्य समारोहका बीच सम्पन्न भएको थियो ।
— राजनीतिक, वैचारिक सत्रको रूपमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै शीर्ष नेताहरूले जिफन्टले निरन्तर उठाउँदै आएको “राज्यका हरेक प्रतिनिधिमूलक निकायमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व” प्रति नेकपा (एमाले)को दृढ समर्थन जनाउनु भएको थियो ।
— जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद्का प्रमुख मुकुन्द न्यौपानेले अध्यक्षता गर्नुभएको उद्घाटन समारोहमा देशभरिका परिषद सदस्यहरू, आबद्ध युनियनका केन्द्रीय पदाधिकारी र सदस्यहरू तथा उपत्यकाका सबै कमिटीका प्रतिनिधिहरू गरी १५ सय श्रमिकहरूको सहभागितामा थियो ।
— गएको वर्षभरिमा जिफन्टले तय गरेको “३० हजार ७५० थप नयाँ सदस्यताको लक्ष” मा ६५ प्रतिशत (१९ हजार ९६६) पूरा भएको वैठकले निस्कर्ष निकाल्यो । वर्षभरि टीम परिचालन अभियान मार्फत् गरिएका सांगठनिक परिचालनहरू प्रभावकारी रहेको तथा मूलतः सामाजिक सम्वादको माध्यमबाट श्रम
— विवादहरू समाधान गरिएको बैठकले निस्कर्ष निकाल्यो । वैठकमा श्रमबजारलाई श्रमिकमुखी बनाउन सञ्चालन गरिएका अभियानहरूको समीक्षा समेत गरिएको थियो ।
बैठकमा केन्द्रीय सचिवालयद्वारा प्रस्तुत ‘आगामी कार्यक्रमको प्रस्ताव’ माथि २९ वटा राष्ट्रिय संघहरूबाट निर्मित ९ युनियन परिषदहरूमा समूहगत रूपमा बृहत छलफल भयो । छलफलबाट राजनीतिक विषय वस्तुका साथै सांगठानिक सुदृढीकरणका लागि जिफन्ट अभियानहरू र आगामी महाधिवेशनबारे विस्तृत छलफल गरियो । वैठकले –
— संविधानसभाको अवसान संगै गहिरिएको राजनीतिक संकट अन्त्यका लागि दलहरूको सहमतिमा अविलम्व राजनीतिक सहमतिको नयाँ सरकार, संविधान जारी गर्ने उपयुक्त विधिमा सहमति, र ताजा जनादेशको लागि नयाँ निर्वाचनको मिति घोषणाको माग गरेको थियो ।
— तीव्रगतिले बढ्दो महँगी र मूल्यवृद्धिले आहत श्रमजीवी जनताका समस्याप्रति उदाशिन सरकारको निन्दा सहित राज्यबाट तुरुन्तै आवश्यक राहतका कार्यक्रम अगाडि सार्ने माग यसप्रति संवेदनशील हुन प्रमुख राजनीतिक दलहरूलाई आव्हान गरेको थियो ।
— पूर्व विशिष्ठ पदाधिकारीहरूलाई कामचलाउ सरकारले अध्यादेश मार्फत दिने निर्णय गरेको भौतिक सुविधाको विरोध, ‘कानून विपरित लाभ लिने भ्रष्टाचार हो र गलत कानून निर्माण गरि लिईने लाभ पनि भ्रष्टाचार सरह नै हो’ भन्नेमा सजग रहन पूर्व विशिष्ट पदाधिकारी तथा राजनीतिक पार्टीहरूलाई आव्हान गरेको थियो ।
— तेस्रो राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले त्रिपक्षीय सहमतिमा जारी गरेको १५ बुँदे घोषणापत्रमा उल्लेख गरिएअनुसार ३ महीना भित्रै परिमार्जित श्रम कानुनहरूको प्याकेजको मस्यौदालाई अन्तिम रूप दिन र नवस्थापित सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा लैजान सक्रिय पहल गर्न श्रम तथा रोजगार मन्त्रालयसंग माग, श्रम निरिक्षण प्रणाली स्थापित गर्ने प्रक्रिया आरम्भ गर्न र रोजगार शिखर सम्मेलन यसै वर्षभित्र आयोजना गर्न माग गरेको थियो ।
— वर्गीय शोषणको पक्षलाई उपेक्षा गर्दै भइरहेको अराजक गतिविध्रिप्रति असहमतिका साथ वर्गीय विषयलाई जोड दिंदै आर्थिक समानता र लैंगिक, जातजाति र भौगोलिक उत्पीडनको अन्त्य गर्ने विधि अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न सम्बद्ध सबै पक्षसंग हार्दिक आव्हान गरेको थियो ।
— भृकुटी पल्प एण्ड पेपर लि. र जनकपुर चुरोट कारखाना लि. लगायतका उद्योग÷व्यवसायहरूमा लामो समयदेखि नसुल्झिएको श्रम विवादको तुरुन्त समाधानको माग गरेको थियो ।
— ‘रोजगार अनुमति प्रणाली (इपीएस), अन्तरगत दक्षिण कोरियामा रोजगारीमा रहेका प्रवासी श्रमिकहरूले कार्यथलो परिवर्तन गर्न नपाउने कोरियाली सरकारको निर्णय खारेजीको माग गर्दै सञ्चालित सडक आन्दोलनप्रति ऐक्यबद्धता जनाएको थियो ।
— छैटौं महाधिवेशन तयारीका लागि विशेष सांगठनिक परिचालन गर्न तत्काल कार्यसम्पादन टीम देशभरि परिचालन गर्ने । महासंघका पदाधिकारी सहित राष्ट्रिय कमिटीका सदस्यहरू, सदस्य संघका प्रमुख केन्द्रीय पदाधिकारिहरू र अञ्चल लगायत स्थानीय तहका नेताहरूको सङ्लग्नता रहने टीमले स्थानीय कमिटीहरूको सुदृढीकरण, अधिवेशन, जिफन्ट स्थानीय प्रतिनिधि निर्वाचन, आबद्ध संघहरूको एकीकरण र राष्टिटय अधिवेशन जस्ता कामहरू सम्पन्न गर्ने । छैटौं महाधिवेशनको राजनीतिक, वैचारिक दस्तावेज तयारीका लागि केन्द्रीय तहमा उच्चस्तरीय टीम निर्माण गर्ने । यसको शुरुवात भदौ महिनाभित्रै गरिने श्रमिकखवरको १०० औं अङ्क सार्वजनिक समारोहबाट गर्ने निर्णय गरेको थियो ।
— २०६९ मंसिर २३ गते कोशी अञ्चलमा, अन्तर्राष्ट्रिय बालअधिकार दिवस र महिला हिंसा विरुद्धको विश्व दिवसको सन्दर्भमा प्रथम श्रमिक कन्सर्ट आयोजना गर्ने निर्णय गरेको थियो ।
— ट्रेड युनियन शिक्षा प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न माघ महिनामा राष्ट्रिय प्रशिक्षक सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो ।
— महिला–पुरुष समानता र काम–जीवन सन्तुलनलाई नयाँ उचाइमा उठाउनका लागि आगामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) का अवसरमा चौथो राष्ट्रिय श्रमिक महिला सम्मेलन आयोजना गर्ने । यसको तयारीका लागि देशव्यापी रूपमा महिला नेताहरूलाई परिचालन गर्ने निर्णय गरेको थियो ।
— श्रमिक आन्दोलनमा युवा संलग्नता र नेतृत्व विकासका लागि दोस्रो राष्ट्रिय युवा श्रमिक अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।
— एक युनियन–एक आवाज अभियानलाई थप सुदृढ गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले तय गरे बमोजिम तेस्रो राष्ट्रिय ट्रेड युनियन सम्मेलन सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने निर्णय गरेको थियो ।
जिफन्ट महाधिवेशन प्रतिनिधि परिषदको तेस्रो वैठक सम्पन्न
प्रेस वक्तव्य संलग्न छ >>
Download/View File: 632_Press_release_77NEC_Meet.pdf