Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशव्यापी उत्साह र उमंगका साथ सम्पन्न

02/05/2012

 

समानता, सम्मान, मर्यादा र अधिकार सहितको समृद्ध जीवनका लागि सुरु गरिएको वलिदानपूर्ण सङ्घर्षको मे दिवस विगतका वर्षहरुमा झैं नेपालमा पनि श्रमजीवी वर्गले उत्साह र उमंगका साथ मनाए ।

 

यस अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले ‘हाम्रो स्थान कहाँ’ भन्ने राज्यका सबै निकायहरुमा श्रमिक वर्गको प्रतिनिधित्वको मागका साथ मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस काठमाडौंको भृकुटी मण्डपमा बृहत समारोहको आयोजना गरी भव्यताका साथ मनाएका थिए ।

 

भृकुटीमण्डपमा मे दिवसको समारोह हुनुपूर्व सुनधाराबाट ब्यानर, प्लेकार्ड र नाराका साथ सुरुभएको दशौं हजार श्रमिकको विशाल जुलुसले नगर परिक्रमा गरेका थिए । जुलुस नयाँ सडक, इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक भई भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएका थिए ।

 

समारोह जिफन्टका अध्यक्ष विष्णु रिमालको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो । 

 

समारोहको आरम्भमा प्रमुख अतिथि झलनाथ खनालले ‘हाम्रो स्थान कहाँ ?’ भन्ने नारा लेखिएको ब्यानर खोलेर उद्घाटन गर्नुभयो । त्यस अवसरमा जिफन्टका २९ वटा सदस्य युनियनका अध्यक्षहरुले नेपाली र अंग्रेजीमा हाम्रो स्थान कहाँ भन्ने लेखिएका अक्षरहरु प्रदर्शन गरेका थिए । साथसाथै राष्ट्रिय धुन पनि बजाएका थिए । उद्घाटन पछि हामी जित्नेछौं गीतको धुनका साथ सहिदहरुको स्मृतिमा १ मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धांजली अर्पण गरेका थिए ।

 

त्यसपछि जिफन्टका महासचिव उमेश उपाध्यायले बितेका वर्षको समीक्षा र आगामी वर्षको लागिप्रतिबद्धता सहितको मे दिवस घोषणा जारी गर्नुभयो ।

 

समारोहमा जिफन्टका संस्थापक दिवंगत सदस्यहरुको नाममा स्थापित माधव न्यौपाने स्मृति एवार्ड र नुरु वाङछु स्मृति एवार्डको पनि घोषणा भएको थियो । यस वर्षको माधव न्यौपाने स्मृति एवार्ड कुशल संगठक जिफन्ट महाकाली अञ्चल सदस्य तथा कमैया आन्दोलनका नेतृ सुन्तली चौधरीलाई र नुरु वाङछु स्मृति एवार्ड साहसिक काम गर्ने सफल सगरमाथा आरोही युनिट्राभका केन्द्रीय सदस्य दोर्जे खत्रीलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

 

त्यस्तै समारोहमा गंगादेवी स्मृति छात्रवृत्ति क्युपेक नेपाल हेटौडा नगर कमिटीका अध्यक्ष नयन पोखरेलका कक्षा ७ मा अध्ययनरत विद्यार्थी भुपाल पोखरेललाई र गंगादेवी स्वास्थ्य सहयोग प्रेस मेसिनले दुबै हात काटी उपचार गरिरहनुभएका सम्सेर कार्कीलाई दिने निर्णयको घोषणा अध्यक्ष विष्णु रिमालले गरेका थिए ।

 

समारोहकै बीच जिफन्टका सदस्य र तिनका परिवारलाई ५० प्रतिशत छुट गरी उपचार गर्ने प्रतिबद्धता जाहेर गर्ने हेल्पिङ हायण्ड सामुदायिक अस्पतालका कार्यकारी निर्देशक गुप्त बहादुर श्रेष्ठ र जिफन्ट बीच भएको सम्झौतापत्रको हस्तान्तरण कार्यक्रम भएको थियो ।

 

समारोहमा प्रमुख अतिथि झलनाथ खनालले उद्घाटन मन्तव्य दिनुहुँदै श्रमिकहरुको प्रतिनिधित्वको मागप्रति ऐक्यबद्धता जाहेर गर्नुभयो र राज्यका हरेक निर्वाचित निकायहरुमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व कार्यान्वयनका लागि प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

 

त्यस्तै अध्यक्ष झलनाथ खनालले नेपाली ट्रेड युनियन आन्दोलनमा प्रखर रुपमा उठिरहेको ट्रेड युनियन आन्दोलनका एजेण्डाहरु संगठन स्वतन्त्रता सम्बन्धी आइएलओ महासन्धिको अनुमोदन, श्रमिकका लागि सामाजिक सुरक्षा, राष्ट्रिय श्रम आयोगको गठन, श्रम बजार सुधारका लागि श्रम कानुनको परिमार्जन र रोजगारी वृद्धिका लागि रोजगार शिखर सम्मेलन आदि विषयहरुमा नेकपा एमालेको पूर्ण सहमत भएको र कार्यान्वयनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

 

समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष विनोद चौधरी, नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यकारी अध्यक्ष सुरेश प्रधान, नेपाल उद्योग बाणिज्य महासंघका मनिस अग्रवाल, आइएलओ गभर्निङबडीका सदस्य विन्दा पाण्डेले शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

 

समारोहको सञ्चालन जिफन्टका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको थियो । समारोहमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरु तथा हजारौं श्रमिकहरुको सहभागिता रहेको थियो ।

 

यस्तै जिफन्टको आयोजनामा मेचीको झापा, कोशीको मोरङ र सुनसरी, सगरमाथाको उदयपुर, सिराहा र सप्तरी, जनकपुरको धनुषा, नारायणीको बारा र मकवानपुर, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, भेरीको नेपालगञ्ज, सेतीको धनगढी, महाकालीको कञ्चनपुरमा मे दिवसको उपलक्ष्यमा जुलुस, सभा र विविध रचनात्मक कार्यक्रमहरु सहित मे दिवस कार्यक्रम भएको समाचार प्राप्त भएको छ ।

 

जिफन्टद्वारा जारी गरिएको मे दिवस २०१२ घोषणा संलग्न छ >>

 

Download/View File: 555_MayDayDelera2012.doc
<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ