Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> प्रेस वक्तव्य >>

अविलम्ब राष्ट्रिय सहमति कायम गर्न राजनीतिक दलहरुलाई जिफन्टको आह्वान !

30/05/2012

 

नेपाल ट्रेड युनियन महासंघले विघटित संविधानसभाप्रति खेद तथा आक्रोश व्यक्त गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ र नयाँ राजनीतिक परिवेशमा दलहरूलाई राष्ट्रिय सहमति कायम गर्न र प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रिय सहमतिका लागि अविलम्ब राजीनामा गरी मार्ग प्रशस्त गर्न आह्वान गरेको छ ।

 

वक्तव्यमा संविधानसभा विघटन हुँदा नेपाल ट्रेड युनियन महासंघलाई पनि दुःखित तथा अचम्मित तुल्याएको भनिएको छ, ‘अब नयाँ संविधान आउला र जारी राजनीतिक संक्रमणकाल टुङ्गिएला’ भन्ने अपेक्षा गरिरहेका आम नेपाली जनतालाई झैं जेठ १४ गते मध्यरातमा आकस्मिक रुपमा संविधानसभा विघटन हुँदा नेपाल ट्रेड युनियन महासंघलाई पनि दुःखित तथा अचम्मित तुल्याएको छ ।

 

वक्तव्यमा अगाडि भनिएको छ– सरकारको अपारदर्शी यो निर्णय त्यसको नेतृत्व गर्ने पार्टी एनेकपा (माओवादी) को घोषणा गरिएकै मितिमा अर्को संविधानसभाको चुनाव गर्न गइरहेको कुरा पत्याउन मुस्किल छ ।

 

“हाम्रो महासंघ चार वर्षको खर्च र मिहेनत बेकारमा गएकोमा दुःख व्यक्त गर्दछ, एकीकृत (माओवादी) र उसको निकटतम सहयोगी विभाजित मधेश आधारित नेताहरुको भूमिकाप्रति खेद तथा आशङ्का समेत व्यक्त गर्दछ ।”

 

वक्तव्यमा उल्लेख छ– जटिल मोडमा पुगेको हाम्रो राष्ट्रिय राजनीतिलाई सहमति र सहकार्यका साथ अघि बढाउनुपर्ने थियो, तर १४ जेठ रातिको घटनापछि हाम्रो देशको राजनीति अझ ध्रुवीकृत हुने र अनपेक्षित द्वन्द्वतिर बढेको छ । मजदुर÷किसान जस्ता श्रमजीवी जनता मात्रै हैन, मिहेनतकस वर्गका महिला तथा जाति।जनजाति र विभिन्न क्षेत्रका बहिस्करणमा परेका जनताको “आफ्नै प्रतिनिधिले लेखेको संविधानबाट अधिकार सुनिश्चित गर्ने” ६ दशक पुरानो अपेक्षामा तुषारापात गरेको छ ।

 

राष्ट्र संकटमा छ । नयाँ संविधानमार्फत नयाँ नेपाल बनाउने अभिभारा बोकेको संविधानसभाको हठात अन्त्यसँगै सिर्जना भएको रिक्तता राष्ट्रिय सहमतिबाट मात्रै भर्न सकिन्छ ।

 

वक्तव्यको अन्त्यमा भनिएको छ– हामी विथोलिएको राजनीतिक यात्रालाई फेरि सही मार्गमा ल्याउन अविलम्ब राष्ट्रिय सहमति कायम गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई आह्वान गर्दछौं । राष्ट्रिय सहमतिका तगारोको रुपमा रहेको वर्तमान काम चलाउ प्रधानमन्त्री बाबुराम भट्टराईलाई अविलम्ब राजीनामा गरी मार्ग प्रशस्त गर्न जोडदार माग गर्दछौं ।

वक्तव्य संलग्न छ >>  >>

 

Download/View File: 578_PressRelease_On_CA Deserved.pdf
<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ